चितवन। भरतपुर महानगरपालिका जनसंख्याको हिसाबले भरतपुर महानगरपालिका देशकै तेस्रो ठूलो सहरको रुपमा चिनिन्छ । नेपालको ठूलो ६ महानगरमध्ये काठमाडौँ, पोखरापछि भरतपुर तेस्रो ठूलो महानगरपालिका हो ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार भरतपुर तेस्रो ठूलो सहर बनेको छ । भरतपुर महानगरको जनसंख्या ३ लाख ६९ हजार ३७७ रहेको छ । जसमा पुरुषको संख्या १ लाख ७९ हजार ७४४ र महिलाको संख्या १ लाख ८९ हजार ६३३ रहेको छ ।
यति धेरै जनसंख्या भएको नेपालकै तेस्रो सहर भरतपुरमा जम्मा दुई वटा दमकल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विपद् व्यवस्थापनका लागि अत्यावश्यक उपकरण दमकल सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा प्राधिकरण ऐन, २०७४ ले पनि दमकललगायतका उपकरण तयारी हालतमा राख्ने जिम्मा स्थानीय तहलाई नै सुम्पिएको छ ।
भरतपुर महानगरमा दुई दमकल त तयारी नै छ, तर जनसंख्याको हिसाबले पुगेकै छैन । भरतपुरभन्दा कम जनसंख्या भएको सहर वीरगञ्ज र विराटनगरमा दमकल बढी छ । वीरगञ्जमा ३ र विराटनगर महानगरपालिकामा ४ वटा दमकल छन् । भरतपुरमा जम्मा दुई वटा रहेको छ।गर्मी चढ्दै छ । आगलागीको मौसम सुरु भएको छ । विभिन्न ठाउँमा आगलागीका घटनाहरु हुन थालेका छन् । यस्तो बेलामा भरतपुरको दुई दमकल जनसंख्याको हिसाबले ज्यादै थोरै हो ।
महानगरपालिकाका प्रवक्त्ता अरुणपीडित भण्डारीले भरतपुर महानगरपालिकामा दमकल कमी भएको स्वीकार गरे । उनले भने, ‘आगलागीको मौसम सुरु भइसकेको छ, हेटौँडादेखि दाउन्नेसम्म, भरतपुरदेखि गोलाघाटसम्म भरतपुरले कभर गर्न सक्ने गरी भरतपुर महानगरमा दमकलको व्यवस्था हुनुपर्छ ।’ उनले भरतपुर महानगरमा एउटा पुरानो र एउटा नयाँ दमकल रहेको बताए । उनले एउटा दमकल बिग्रेर नबन्ने गरी बसेको बताए । उनले भने, ‘दमकल अत्यन्तै जरुरी छ, स्रोत साधनको अभाव नै छ, दमकल खरिद गर्ने अर्को योजना पनि बनाएका छैनौँ ।’
भरतपुर महानगर बारुणयन्त्र शाखा प्रमुख देवेन्द्र रेग्मीले पनि भरतपुर महानगरमा पश्चिम चितवन क्षेत्रको लागि दमकल अति आवश्यक भएको बताए । उनले भने, ‘गोलाघाटमा आगो लाग्यो भने यहाँबाट जाँदाजाँदै धेरै क्षति भइसक्छ, त्यसैले पश्चिम चितवनको लागि एउटा दमकल स्टेशन आवश्यक छ ।’
प्रत्येक २ हजार जनसंख्या बराबर एक जना फायरमेन आवश्यक पर्छ । प्रत्येक पाँच किलोमिटरमा एउटा दमकल स्टेशन हुनुपर्छ भन्ने मान्यता छ ।
उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार २८ हजार जनसंख्या बराबर एउटा दमकल आवश्यक पर्ने बताए । यो हिसाबले भरतपुर महानगरमा १४ वटा दमकल आवश्यक पर्छ । प्रमुख रेग्मी भन्छन्, ‘दमकल स्टेशन ज्यादै खर्चालु हुन्छ, भरतपुर महानगरमा पश्चिम चितवनमै दमकल स्टेशन बनाएर एउटा राख्न सक्यौँ भने पनि हाललाई पुग्छ ।’
प्रत्येक २ हजार जनसंख्या बराबर एक जना फायरमेन आवश्यक पर्छ । प्रत्येक पाँच किलोमिटरमा एउटा दमकल स्टेशन हुनुपर्छ भन्ने मान्यता छ । बारुणयन्त्रका विज्ञसमेत रहेका रेग्मीले भने, ‘भरतपुर महानगरको दमकलले कम्तीमा ३० किलोमिटरको क्षेत्र लिएको छ, टाढाको दुरीसम्म दमकल पुग्दा धेरै क्षति भइसक्छ, त्यसकारण अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रत्येक १० किलोमिटरमा दुई वटा दमकल स्टेशन हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।’