चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले संविधान अनुरुपनै काम गरिरहेको बताएका छन् । आज (आइतबार) प्रेस सेन्टर नेपाल, भरतपुर महानगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सनाले आफुले संविधान अनुरुपनै काम गरिरहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले, अहिलेको संविधानले गाँस, बाँस, कपास नभएका दलित र अन्य भूमिहिनलाई जसरी भएपनि राज्यले उपलब्ध गराउनु पर्ने भनेकोले पनि आफुलाई काम गर्न सजह भएको र अवसर मिलेको बताए । उनले, आफु चितवनमा २२ औँ आयोग अध्यक्षको रुपमा आएको र आफु अघिका २१ जना अध्यक्षले फाइलको पोका नखोलेको बताउँदै, आफुले फाइलको पोका खोलेर काम अघि बढाएको जिकिर गरे । उनले भने, ‘अहिले म २२ औँ अध्यक्षको रुपमा चितवनका काम गरिरहेको छु, म भन्दा पहिलाको २१ जना अध्यक्षहरुले फाइलको पोका सम्म खोल्नु भएको थिएन । अब मैले कार्यको सुरुवात गरि सकेको छु, केही गरि काम पुरा भएन भने पनि अब म पछि आउने अध्यक्षहरुलाई काम गर्न सहज हुन्छ ।’
तिमिल्सिनाले, आफुले पार्टीकोलागि नभई पिडितहरुकोलागि काम गरेको दाबी गर्दै, पिडितहरुको आँखामा खुशी देखे आफु पनि खुशी हुने बताए । उनले भने, ‘पार्टीको लागि काम गरेको होइन, पिडित भूमिहिनकोलागि काम गरेको हुँ, उनीहरुको आँखामा खुशी देखे म पनि खुशी हुन्छु ।’