चितवन । २०७९ वैशाख ३० गते त स्थानीय तहको चुनाव घोषणा भइसकेको छ । चुनाव घोषणा भए पनि नेकपा माओवादी केन्द्र रत्ननगरले अझै नेतृत्व पाएको छैन । चितवनका अन्य ६ पालिकाको माओवादी केन्द्रले नेतृत्व पाइसकेको छ । अन्य स्थानीय तहमा नेतृत्व पाउँदा रत्ननगर अझै नेतृत्वविहीन छ ।
मंसिर ११ गते भएको रत्ननगर नगरपालिकाको सम्मेलनमा झण्डै हात हालाहालको स्थिति बनेपछि रोकिएको सम्मेलन पूर्ण हुन सकेन । नगर सम्मेलन भएको आज ७५ दिन पुग्दासम्म माओवादी केन्द्र रत्ननगरले नेतृत्व फेला पारेको छैन । अध्यक्ष पदका धेरै आकांक्षी भएपछि सर्वसम्मत नेतृत्व छनौट गर्न नसकेको माओवादी केन्द्र रत्ननगरका पूर्व पदाधिकारीहरु बताउँछन् । एक पदाधिकारीले भने, ‘सबैलाई पद चाहिन्छ, सबैलाई नेतृत्व चाहिन्छ, अनि कहाँबाट नेतृत्व पाउँछ कमिटीले ? काम खोज्नुपर्ने ठाउँमा पद खोज्ने धेरै भएर यो अवस्था आएको हो ।‘
नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियाले माओवादी केन्द्र रत्ननगरले छिट्टै नेतृत्व पाउने दावी गरे । उनले चितवन प्रेससँग कुरा गर्दै अब केन्द्रीय समितिको बैठकपछि रत्ननगरले नयाँ नेतृत्व पाउने दावी गरे । चुनाव आउन अब ९२ दिन बाँकी छ, अझै कुनै सुरसार छैन नेतृत्वको ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशकी कोषाध्यक्ष संगीता भट्टराईले अब सर्बसम्मत रुपमा माओवादी केन्द्र रत्ननगरले नेतृत्व पाउनेमा आफू विश्वस्त भएको बताइन् । उनले भनिन्, ‘पहिले हाम्रो प्रदेश अध्यक्ष शोकमा हुनुहुन्थ्यो, जसका कारण नेतृत्व चयनमा ढिला भएको हो । अब सबै समयमै हुन्छ, सर्वसम्मत नेतृत्व छनौट नै हुन्छ ।’ भट्टराईले आफूलाई पार्टीले अहिलेसम्म रत्ननगरको नेतृत्व चयनको जिम्मेवारी नदिएको भए पनि आफुले समन्वय गरिरहेको बताइन् ।
७५ दिनअघिको त्यो सम्मेलन
मंसिर ११ गते माओवादी केन्द्र रत्ननगरको नेतृत्व चयन गर्न नगर सम्मेलन भयो । सम्मेलनमा धेरै आकांक्षी देखिए । निर्वाचन समितिले प्रस्ताविक पदाधिकारीदेखि सदस्यहरुको नामावली पढेर सुनाउने भयो । तर निवार्चन समितिले नामावली नपढ्दै नगर प्रतिनिधिहरु एकै स्वरमा विरोध जनाउन लागे ।
‘हामीलाई हेला गरियो, हामीलाई नेतृत्वबाट टाढा राख्न खोजियो, बारम्बार असफल नेतृत्व गर्ने नेतालाई नै फेरि नेतृत्व दिन खोजियो, स्वस्थानीको कथामा भनिएको छ, रोटी आफनो पोइलाई दिनु, पोइ नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा नभए खोलामा लगेर बगाइदिनु ।’
हामीलाई मान्य छैन भन्दै नगर सभाभरि आवाज गुञ्जियो । धेरै विरोध भएपछि नगर प्रतिनिधिहरुले आफनो पनि कुरा सम्मलेनमा राख्न पाउनुपर्ने माग राखे । पेलेरै नेतृत्व घोषणा गर्न लागेको आरोप निर्वाचन समितिलाई लगाउँदै त्यहाँ उपस्थित एक माओवादी कार्यकर्ताले बोल्ने समय मागे । गाह्रो मानेरै भए पनि बोल्न दिइयो ।
नगर सम्मेलनमा बोल्दै ती कार्याकर्ताले स्वस्थानीको कथा सुनाए । उनले स्वस्थानीको कथा सुनाउँदै भनेका थिए, ‘हामीलाई हेला गरियो, हामीलाई नेतृत्वबाट टाढा राख्न खोजियो, बारम्बार असफल नेतृत्व गर्ने नेतालाई नै फेरि नेतृत्व दिन खोजियो, स्वस्थानीको कथामा भनिएको छ, रोटी आफनो पोइलाई दिनु, पोइ नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा नभए खोलामा लगेर बगाइदिनु ।’ यसो भन्दाभन्दै अर्का कार्यकर्ताले उनको माइक खोसेपछि सम्मेलनमा तनाव सुरु भएको थियो । कार्यकर्ताले नेतृत्वको नातावाद, किर्पावादलाई विरोध जनाएका थिए ।
त्यसपछि स्थिति साम्य बनाउन निर्वाचन समितिले अर्को मितिमा निर्वाचन घोषणा गर्ने भन्दै सम्मेलन सकाएका थिए । त्यसपछि अहिलेसम्म रत्ननगर माओवादी केन्द्र सुतेको सुतै छ । चुनाव घोषणा भइसक्यो कहिले उठ्ने होला ?