चितवन । स्थानीय तहको निर्वाचन आउन अब ९३ दिनमात्र बाँकी छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैचरणमा गर्ने निर्णय गरिसकेको छ । निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवन पनि निर्वाचनमा जुटेको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले चितवनमा मतदाता संकलनको काम रोकिएको बताए । चितवन प्रेससँगको कुराकानीमा उनले भने, अब चाहेर पनि हामीले मतदाताको नामावली दर्ता गर्न सक्दैनौँ, निर्वाचन घोषणासँगै चितवनमा मतदाता नामावली संकलनको काम रोकिएको छ ।’
चितवनमा एक तेस्रो लिङ्गीसहित ४ लाख ५ हजार ७०९ मतदाता पुगेका प्रमुख कार्कीले बताए । दुई लाख सात हजार ४७४ महिला र एक लाख ९७ हजार ९६१ पुरूष मतदाता छन् । उनले यी सबै मतदाता योग्य मतदाता नभएका र योग्य मतदाता आयोगबाट आउने बताए । उनले भने, ‘हामी सबै संकलन भएको मतदाता आयोग पठाउँछौँ, आयोगबाट काँटछाँट भएर योग्य मतदाता आउँछन् । ती मतदाताले स्थानीय तहको निर्वाचनमा भोट हाल्नेछन् ।’