चितवन।चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि माघ मसान्तसम्म) पुग्न अझै केही दिन बाँकी छ । यो अवधिमा २३ गैँडा मरिसकेका छन् । मानवीय कारणले पनि केही गैँडा मरेका छन् । यस आर्थिक वर्ष २ वटा गैँडा तस्करको गोलीले मरे । बाली खान आउँदा करेन्ट लागेर पनि गैँडा मरेको छ । एउटा भाले गैँडा त निर्माणाधीन सडकको नालीमा परेर मरेको हो ।
सडकको निर्माणाधीन नाली पनि गैँडाको काल बनेर आयो । पुल्चोक गोन्द्राङ ६ लेन सडकको निर्माणाधीन नालीमा परेर भाले गैँडा मरेको छ। नालीमात्र गैँडाको काल होइन, दलदल भासी पनि गैँडाको काल बनिरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा आज मृतावस्थामा फेला परेको छ । यो नै सबैभन्दा पछिल्लो समय मृतावस्थामा फेला परेको गैँडा हो ।
यो दुई वर्षको गैँडा बाघको आक्रमणबाट मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। गैँडाको खुर सुरक्षित रहेको छ । दुई वर्षको उक्त गैँडाको खाग पनि पलाएको थिएन ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा २३ गैँडा मरेको पाइएको छ । कुनै मानवीय कारणले मरे, कुनै कालगतीले मरेका हुन् भने कुनै बाघको आक्रमणबाट र कुनै जुधेर मरेका चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् ।
तिवारीका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मंसिरमा पाँच र पुसमा दुई र माघमा आजको सहित ४ गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर ५ र बाघको आक्रमणबाट दुई गैँडा मरेको जनाइएको छ । यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।
सूचना अधिकारी तिवारीका अनुसार आव २०७५ र ७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । यस्तै आव २०७७ र ७८ मा ३३, २०७६ र७७ मा २६, २०७४ र ७५ मा २६, २०७३ र ७४ मा २५, २०७२ र ७३ मा १४, २०७० र ७१ र २०७१ र ७२ मा ११ र ११ गैँडा मरेका थिए । यस्तै आव २०६९ र ७० मा १० गैँडा मरेको निकुञ्जको तथ्याङ्कले जनाएको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् ।