चितवन । चितवनका १६ हजार २२८ विद्यार्थीले विद्यालयमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हिजो (आइतबार) चितवनका चार पालिकाका विद्यार्थीले विद्यालयमै खोप लगाएका हुन् ।
पालिकाका २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमै पुगेर स्वास्थ्यकर्मीहरुले हिजो विद्यार्थीलाई खोप दिएका थिए । आज (सोमबार) पनि खोप कार्यक्रम संचालन भैरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार भरतपुर महानगरमा ११ हजार १५७ जना, रत्ननगरमा २ हजार ५१६ जना, माडीमा १ हजार ६३२ र कालिका नगरपालिका ९२३ जना विद्यार्थीले विद्यालयमै खोप लगाएका हुन् ।
चितवन जिल्लाभर १२ देखि १७ वर्ष उमेर समूहका करिब ८० हजार विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप पाउने छन् ।
तीन दिनसम्म विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।