चितवन । चितवनका विद्यार्थीले आजबाट विद्यालयमै खोप पाउने भएका छन् । चितवनका सातै पालिकाका २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमै पुगेर स्वास्थ्यकर्मीहरुले आजबाट विद्यार्थीलाई खोप दिने भएका छन् । विद्यार्थीहरु विद्यालयमा आउन थालिसकेका छन् ।
स्वास्थ्यकर्मीहरुले तयारी गरिरहेका छन् । स्वास्थ्य कार्यालय चितवनले खोप लगाउनको लागि चितवन जिल्लाभर ३०० स्वास्थ्यकर्मी खटिने जनाएको छ । चितवन जिल्लाभर झन्डै १२ देखि १७ वर्ष उमेर समूहका करिब ८० हजार विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् ।
तीन दिनसम्म विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोर्डना खोप दिइने जनाएको छ । यसअघि विद्यार्थीलाई फाइजर खोप दिने भनिए पनि सो खोप नआएका कारण विद्यार्थीलाई मोर्डना खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।