चितवन । नारायणगढ–मुग्लिन सडकस्थित पन्ध किलो दुर्घटनामा एकै परिवारका चार जना परेका छन् । सो दुर्घटनामा आमा–छोराको मृत्यु भएको छ भने ज्वाइँ–सासू घाइते भएका छन् ।
मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यानविपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार आमा छोराको मृत्यु भएको छ । भ्यान चालकसहित दुई यात्रुको अवस्था गम्भीर छ ।
दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वली र भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । धीरमाया र राजकुमार सासू र ज्वाइँ हुन् । सपरिवार भएर उनीहरु गल्छीबाट चितवनको राप्ती नगरपालिका आउँदै थिए ।