चितवन।कावासोती १३ निवासी अटो चालक माधवप्रसाद गिरीको हत्या आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अटो चालक गिरीको हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको कावासोती प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कावासोतीका सूचना अधिकारी दिलिपकुमार गिरीले हत्या आशंकामा दुई जनालाई सोधपुछको लागि राखिएको र अनुसन्धान जारी रहेको बताए । उनका अनुसार गिरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । घटना अनुसन्धानकै क्रममा रहेको हुनाले प्रहरीले थप खुलासा केही गरेको छैन । गिरीको शव पोष्टमार्टमको लागि दुम्कौली स्वास्थ्य केन्द्रमा लगिएको छ ।
गत सोमबार माधवप्रसाद गिरी कावासोती १३ स्थित घरमै बसिरहेका बेला क जना अपरिचित व्यक्ति उनको घर आएर कावासोती बजार जानुछ, अटोमा लगिदिनुप–यो भनेका थिए। गिरी अपरिचित व्यक्तिलाई अटोमा राखेर हिँडेपछि राति अबेलासम्म घर फर्केनन् । घरपरिवारले कतै बसे होलान् भन्ठानेर राति नै खोजतलास खासै गरेनन् । बिहानपख खोजी कार्य हुँदा कावासोती नगरपालिका वडा नं १३ गैरी घर भएका ५२ वर्षीय गिरी घर नजिकैको सिमसार घोलमा मृत फेला परेका थिए । प्रहरीले गिरीको हत्याको आशंका गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ ।