चितवन । चितवनको रत्ननगर नगरपालिका भरतपुर महानगरपछि दास्रो धेरै जनसंख्या भएको नगरपालिका हो । रत्ननगर नगरपालिका पशुपालन, कृषि र पर्यटकीय नगरपालिकाको लागि चर्चित छ ।
जनगणना २०७८ अनुसार रत्ननगर नगरपालिकाको जनसंख्या ९० हजार ९७८ रहेको छ । जनगणना २०७८ अनुसार रत्ननगर नगरपालिकामा ४४ हजार १२० पुरुष र ४६ हजार ८५८ महिलाको जनसंख्या रहेको छ । २२ हजार ६७० परिवार संख्या र १९ हजार ९०१ घरसंख्या रहेको छ ।
देशमा फेरी स्थानीय चुनाव आउँदै गर्दा रत्ननगर नगरपालिका चितवनमा नेकपा एमालेले आफनो सेफजोन ठानेको नगरपालिका हो ।यस अघिको स्थानिय चुनावमा एक हजार भन्दा बढी मतले विजयी भएको एमालले रत्ननगरको मेयर पदमा अरु राजनीतिक दललाई सजिलै जित हात पार्न दिने छैन । यस अघि स्थानिय चुनावमा संस्थापक मेयर समेत रहेका नेकपा एमालेका उम्मेदवार नारायण वन विजयी भएका थिए ।
उनले १ हजार ४२३ मतआन्तरले आफनो निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेलाई पराजित गरेका थिए । विजयी भएका मेयरका उम्मेदवार नारायण वनले १४ हजार ६ सय ७७ मत ल्याएका थिए भने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार रुपनराज घिमिरेले १३ हजार २ सय २७ मत ल्याएका थिए।
उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४ सय ८१ मतका साथ विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालले १२ हजार ७ सय ३ मत ल्याएकी थिइन् ।
त्यस्तै, माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार पूर्णबहादुर अम्गाईले तीन हजार ६७१ र उपप्रमुख संगीता भट्टराईले चार हजार २४ मत पाएका थिए । चाँैथो नम्बरमा रहेका राप्रपाका मेयर पदका उम्मेदवार गोविन्द अधिकारीले ६२८ र उपमेयर पदकी उम्मेदवार उर्मिला पासवानले ७०१ मत पाएका थिए।
वडा अध्यक्षहरुमा एमालेको तर्फवाट १० जना र कांग्रेसको तर्फबाट ६ जना निर्वाचित भएका थिए । वडा न १ शंकर सिं तामाङ (कांग्रेस), वडा नं २ तिलकराज पौडेल (कांग्रेस), वडा नं ३ गोविन्द भट्टराई (एमाले), वडा नं ४ रवीन्द्र चौधरी (एमाले), वडा नं ५ कृष्ण महतो (एमाले)को तर्फबाट विजयी भएका छन् । वडा नं ६ मा बलराम दहाल (कांग्रेस), वडा नं ७ राजन भट्ट (कांग्रेस), वडा नं ८ विनोद बस्नेत(एमाले),वडा नं ९ रोशन आचार्य (एमाले), वडा नं १० केशव आचार्य (एमाले), वडा नं ११ शशिभत्त न्यौपाने (कांग्रेस) विजयी भएका थिए। यसैगरी वडा नं १२ वीरबहादुर पाख्रिन(कांग्रेस), वडा नं१३ चित्रबहादुर भण्डारी (एमाले), वडा नं१४ हरिकुमार श्रेष्ठ (एमाले), वडा नं१५ हुमनाथ लामिछाने(एमाले) र वडा नं१६ हेमराज थापा(एमाले) विजयी भएका थिए।
रत्ननगरलाई रत्न बनाउन आफुलाई मत दिएका नगरबासीलाई मेयर वनले बिकासको स्वरुप मणि दिए कि रत्न ? त्यो त आउने मतदानबाट छिनोफानो हुनेनैछ। यस अघिको चुनावमा पूर्वि चितवनबाट मेयरमा रित्तो रहनु परेको कांग्रेसलाई अबको चुनावको व्यग्र प्रतिक्षा रहेको छ ।
यस अघि चुनावमा जमानत मात्र बचाएको नेकपा माओवादी केन्द्रले पनि आफु तिर पहिल्य भन्दा केही बढी मत झार्ने कसर गर्दै छ । एमाले फुट पछि रत्ननगरका प्रभावशाली नेता कृष्ण खनाल एकिकृत समाजवादीमा छन् । टुटफुट र राजनीतिको जालोमा बेरिएको एमालेलाई मेयर बचाउन गाह्रो देखिन्छ ।
तर,भर्खरै सौराहामा महाधिवेशनको बन्दशत्र सम्पन्न गरेको एमालेको क्रेज अझै पनि अरु राजनीतिक दल भन्दा बेग्ले रहेको छ ।