चितवन। रत्ननगर नगरपालिका वडा नं ९ नवजागृति टोल निवासी हुन् राममणि अधिकारी । कुनैबेला विदेशी भूमिमा हुईहुई गर्दै लेबर काम गर्थे । विदेशी भूमि मलेसियामा लेबर काम गर्दा मासिक १५ हजार बचाउन मुस्किल थियो उनलाई, तर अहिले उनी सजिलै महिनाको एक लाख टिपिरहेका छन् ।
गाईपालनमा जमेका राममणि गाईको प्रत्येक थुनबाट पैसा टिपिरहेको बताउँछन् । उनी भन्छन्, ‘सबै साथीभाई विदेश गएको देख्दा आफू पनि विदेश गइयो, जति दुःख गरे पनि महिनाको १५ देखि २० हजार टिप्न सक्थेँ, अहिले घरपरिवारमै रमाएर महिनाको एक लाख टिपिरहेको छु ।’
विदेश जाने, चिटिक्क परेको घर बनाउने र श्रीमती बाआमा छोराहरुलाई राम्रो शिक्षा दिने र खुसी सुखी जीवन बिताउने सपना बुनेर विदेश गएको उनी बताउँछन् । उनले भने, ‘तर घर बनाउने, बाआमा छोराहरुलाई राम्रो शिक्षा दिने र खुसी सुखी जीवन बिताउन यहीँको कमाइबाट हुन लेखेको रहेछ ।’
विदेशको बसाइँपछि बिदामा घर आएका राममणि नेपालमै केही गर्छु भनेर पुर्खौली काम गाईपालन सुरु गरे । ‘पैसाको बोट हुँदैन विदेशमा पनि दुःख गर्नैपर्छ, यहीँ दुःख गरे कसो नहोला भनेर गाईपालन सुरु गरेको पैसैपैसा टिप्न पाइएको छ’ उनले भने, ‘अहिले त झन दूधको मूल्य बढ्यो कस्तो काइदा !
अधिकारी यतिबेला ४१ वर्षका भएका छन् । उनी गाईपालनमा लागेका १० वर्ष पूरा भयो । रत्ननगर ९ कपरफोरीमा जग्गा भाडा लिएर उनले गाईपालनका लागि गोठ बनाएका छन् । बाली राम्रोसँग नहुने जमिनमा यतिबेला अधिकारीले गाई पालेर पैसा कमाइरहेका छन्।
उनले कपरफोरीमा यतिबेला २२ भन्दा बढी गाई पालेका छन् । साना बाछीहरु हुर्काइरहेका छन् । अधिकारीले कमाइ देखेर दुनियाँ चकित भएका छन् । विदेश जाने तयारीमा रहेका युवाहरु अधिकारीको सिको गर्दै गाईपालन गर्न थालेका छन्।
हालसम्म उनले ४० लाखभन्दा बढी लगानी गरिसकेका छन् । पहिला अर्काको देशमा लेबर काम गर्दा १५ हजार कमाउने अधिकारी अहिले वार्षिक ६ लाख सबै खर्च गरेर बचाउँछन् । एक लाख कमाइ भए पनि ५० हजार उनको घर खर्च छ । ५० हजार मासिक कमाउँछन्।
गाउँकै मान्छेसँग उनले ५५ गठ्ठा जग्गा भाडामा लिएका छन् । २ बिघा जग्गामा उनले घाँस खेती गरेका छन् । ३ गठ्ठामा सानदार गोठ बनाएर गाईपालन गरिरहेका छन्।
वर्षको ८० हजार त उनले जग्गाको भाडामात्र बुझाउँछन् । उनले भने ‘दुई लाखबाट गाईपालन गरेका उनले ४० लाखसम्म लगानी गरिसकेका छन् । गाई बेच्नेभन्दा पनि दूध बेच्ने उनी रमाउँछन्।
उनले आफ्नो ६ जनाको परिवार (बुवा, आमा, दई छोरा र आफू) गाईपालनकै आम्दानीबाट पालिएको बताए । उनले भने, ‘गाईपालनबाटै छोरालाई बोर्डिङ्ग स्कुल पढाएको छु, अब म विदेश जान्नँ। स्वदेशमै बसेर गाईपालन गरेर अघि बढ्छु। आफ्नो गाईको फर्मलाई अझै ठूलो बनाउँछु । अरूलाई पनि गाईपालनमा लाग्न सल्लाह दिन्छु।’
उनका बाजेले लमजुङ्ग दूराडाँडा देवतापानीमा गाईपालन गरेका थिए। उनले बाजेको पुर्खौली पेसा समाल्दै रत्ननगरमा गाईपालन गरिरहेका छन् । उनलाई उनका श्रीमती, छोराहरूले सघाउँछन् । उनी भन्छन्, ‘हामी परिवार नै अहिले यही पेसामा लागेका छौं, हामीलाई राम्रो भएको छ, यहाँका स्थानीयहरु पनि हाम्रो पौरख देखेर गाई, भैंसीपालनमा लागेका छन् ।’ अधिकारी यतिबेला रत्ननगर ९ कपरफोरीमा आफ्नै घर परिवारसँग खुसीसाथ गाईपालनमा जमेर बसिरहेका छन्।