काठमाडौं।काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता २८ माघमा हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २०० डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
दुई एकल स्पर्धा समावेश गरिएको छ । पुरुष/महिला १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ । पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले पाँच हजार, दोस्राेले तीन हजार र तेस्राेले दुई हजारका दरले नगद पुरस्कार पाउने छन् ।
सहभागीले २३ माघसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ । २३ माघदेखि २६ माघसम्म भिडियो पठाउने अवधि तोकिएको छ । भिडियो बढीमा एक मिनेट २० सेकेन्डको मात्र हुनु पर्ने आयोजकले जनाएको छ ।