चितवन।अरु चुनाव भन्दा स्थानीय चुनावको गर्मी अलि बेग्लै हुन्छ। स्थानीय सरकार चयन गर्ने भएर पनि होला, स्थानीय चुनावमा स्थानीयको जोश बेग्लै देखिन्छ । चुनावको महोत्सव लागेझैँ हुन्छ।
चितवनको खैरहनी नगरपालिका कचौराजस्तो गोलो नगरपालिका छ। जनगणना २०७८ अनुसार खैरहनी नगरपालिकाको जनसंख्या ६८ हजार ६७५ रहेको छ । खैरहनी नगरपालिकामा ३३ हजार १०४ पुरुष र ३५ हजार ५७१ महिलाको जनसंख्या रहेको छ। १६ हजार ७५७ परिवार संख्या र १४ हजार ६५० घरसंख्या रहेको छ।
यस अघिको स्थानीय चुनावमा यस नगरपालिकाबाट सूर्य चिह्नबाट चुनाव लड्दै पूर्व सांसद समेत रहेका नेकपा एमालेका नेता लालमणि चौधरीले मेयरको पदमा बाजी मारेका थिए। त्यस्तै, उपमेयरमा पनि सूर्य चिह्नकी अर्की उम्मेदवार नेकपा एमालेकी नेतृ सुनिता थपलिया विजयी भएकी थिइन्।
मेयर चौधरीे आफना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै विजयी भएका थिए। लालमणिले १० हजार ७१७ मत प्राप्त गरेका थिए भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गरेका थिए।
यस्तै उपप्रमुखमा सुनिता थपलियाले १० हजार ४५१ मत प्राप्त गरेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले ९ हजार ८८८ मत प्राप्त गरेकी थिइन्।
उता माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत प्राप्त गरेकी थिइन्।
खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको थियो भने नेपाली कांग्रेसले ६ वटा वडामा जित हासिल गरेको थियो।
नगरपालिकाको वडा नं १, ६, ७, ८, ९, १०, ११ मा एमालेका उम्मेदवार विजयी भएका थिए भने वडा नं २, ३, ४, १२ र १३ मा कांग्रेसले वडाध्यक्षमा जितेको थियो।
अब स्थानीय सरकारको अवधि सकिदै गर्दा यि ५ बर्षमा नेपालको राजनितिमा धेरै कायापलट भएको । नेकपा एमाले फुटेर एकिकृत समाजवादीको जन्म भैसकेको छ। अब यही परिस्थीतिमा स्थानिय चुनाव भए नेकपा एमालेलाई खैरहनी नगरपालिकामा नोक्सानी हुने लगभग पक्का पक्कीनै छ। यस अघि हजार भन्दा कम मतअन्तरले विजयी भएको एमालेलाई खैरहनीमा सबैभन्दा ठुलो ‘थ्रेट’ नेपाली कांग्रसको हुने छ।
जिल्लामा आफनो कार्यकर्ता बढेको भनेर दाबी गर्दै आएको नेकपा माओवादी केन्द्र खैरहनी नगरपालिकाको हकमा फेरी पनि नेकपा एमाले र नेपाली कांग्रेसको सामु निरिह बन्ने छ। यदी नेकपा माओवादी केन्द्र यि दुई पार्टि मध्ये एकसँग चुनावी तालमेल गरे नतिजामा केही फरक पर्न सक्छ।