चितवन । कोरोना भाइरसको संक्रमणका कारण चार दिन चलेर चितवन महोत्सव बन्द भयो । रत्ननगर महोत्सव चल्ने समय आउँदै थियो, जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सम्पूर्ण मेला, महोत्सवहरु बन्द गर्न आदेश दियो । सञ्चालन हुने मुखमा आएको रत्ननगर महोत्सव प्रशासनको आदेशसँगै बन्द भयो ।
उद्योग वाणिज्य संघ रत्ननगरले कोरोना कहर साम्य भएपछि रत्ननगर महोत्सव चलाउने जानकारी दिएको छ । स्टल लिएर बसेका व्यवसायीहरु रत्ननगर महोत्सव कहिले सुरु होला र व्यवसाय गरौँला भनेर कुरेर बसेका छन् ।
रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले तत्काल कोरोना कहर साम्य भयो भने रत्ननगर महोत्सव चलाउने बताए । उनले भने, ‘फागुनको पहिलो सातासम्म कोरोना कहर घट्दै गएर महोत्सव चलाउने वातावरण बन्यो भने रत्ननगर महोत्सव चलाउँछौँ ।’ उनका अनुसार अबको एक महिनाभित्र कोरोना भाइरसको संक्रमण घटेर मेला महोत्सव चलाउन प्रशासनले अधिकार दियो भने रत्ननगर महोत्सव चल्नेछ ।
अध्यक्ष श्रेष्ठले भने, ‘फागुनको पहिलो सातापछि महोत्सव चल्नेछैन, त्यतिबेला मौसमले पनि साथ दिँदैन । रत्ननगर महोत्सव चल्यो भने फागुनको पहिलो साताभित्रै चल्नेछ, गर्मी चढेपछि महोत्सव हुनसक्दैन ।
रत्ननगर महोत्सव नचलेको खण्डमा ६३ लाख घाटा हुने अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘हामीले अहिलेसम्म महोत्सवको स्टलहरु हटाएका छैनौँ, स्टल सञ्चालकहरुलाई पनि केही भनेका छैनौँ, उनीहरु महोत्सव चल्छ कि भनेर कुरेर बसेका छन् ।’ महोत्सव चलेन भने स्टल सञ्चालकबाट लिइएको भाडा फिर्ता गरिने उनी बताउँछन् ।
रत्ननगर उवासंघ चितवनका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले व्यवसायीहरु रत्नननगर महोत्सव चल्ला भनेर कुरेर बसिरहेका बताए । पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘कोरोना कहर चाँडै नै अन्त्य हुन्छ भनेर व्यवसायीहरु आशैआशमा बसेका छन्, हेरौँ के हुन्छ ?’