चितवन । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ ।
पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो।
किसानलाई गाई वितरणको लागि सो नगरपालिकाको नवौं नगर सभाले एक करोड रुपैया विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र किसानको एक करोड गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । विहीबार १६ जना किसानलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको छ ।
सो नगरपालिकाले गाईसँगै गोठ सुधारको लागि १० हजार रुपैयाँसमेत प्रदान गरेको छ । नगरपालिकाले प्रदान गरेको १० हजारमा किसानले १० हजार थप गरी २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ । गाईको सवालमा किसानले कम्तीमा ८० हजार मूल्यबराबरको गाई खरिद गर्नुपर्छ । बिहान बेलुका गरी कम्तीमा १० लिटर दूध दिने र सो गाई पूर्ण रुपमा स्वस्थ्य हुनुपर्ने पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए ।
नगरपालिकाले किसानको आर्थिक अवस्था मुल्याङकन गरी पशुपालनबाटै जिविका चलाउँछु भन्ने विश्वास भएको किसानलाई मात्र गाई वितरण गर्ने उनले जानकारी दिए । मेयर नारायण वन, उपमेयर विमला दुवाडीले नगरपालिकाको प्राङ्गढमा किसानलाई गाई हस्तान्तरण गरेका छन् । अनुदानमा गाई पाएपछि किसानहरु उत्साहित भएका छन् ।
रत्ननगर १३ अमेलियाकी किसान पदमकुमारी न्यौपानेले यसअघि नगरपालिकाले दिएको अनुदान रकमबाट बाख्रापालन गरी जीविकोपार्जन गरेको र अहिले गाई समेत पाउँदा खुसी लागेको बताइन् । उपमेयर दुवाडीले नगरको गौरबको योजनाअन्तर्गत किसानलाई गाई वितरण सुरु गरिएको बताइन् ।
मेयर वनले सुत्केरी पशुलाई भत्ता पछि किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानहरुको पहिचान गरी गाई वितरण गरिएको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई, नेकपा एमालेका नगर सचिव शिवराज सुवेदी, नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याललगायतले मन्तव्य राखेका थिए ।