चितवन । सडकको निर्माणाधीन नाली पनि गैँडाको काल बनेर आयो । पुल्चोक गोन्द्राङ ६ लेन सडकको निर्माणाधीन नालीमा परेर भाले गैँडा मरेको छ । नालीमात्र गैँडाको काल होइन, दलदल भासी पनि गैँडाको काल बनिरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा २२ गैँडा मरेका छन् । कोही दलदल भासीमा परेर मरे भने कुनै नालीमा परेर पनि मरे । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का चितवन निकुञ्जले गरेको छ । अन्य कुनै कालगतीले मरेका हुन् भने कुनै जुधेर मरेका चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन ।
तिवारीका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मंसिरमा पाँच र पुसमा दुई र माघमा ३ गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर ५ र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ । यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उनले जानकारी दिए ।
सूचना अधिकारी तिवारीका अनुसार आव २०७५ र ७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । यस्तै आव २०७७ र ७८ मा ३३, २०७६ र७७ मा २६, २०७४ र ७५ मा २६, २०७३ र ७४ मा २५, २०७२ र ७३ मा १४, २०७० र ७१ र २०७१ र ७२ मा ११ र ११ गैँडा मरेका थिए । यस्तै आव २०६९ र ७० मा १० गैँडा मरेको निकुञ्जको तथ्याङ्कले जनाएको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् ।