चितवन । चितवनका खोपकेन्द्रबाटै कोरोना संक्रमणको जोखिम बढेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा सबैमा त्रास देखिएको बेला, भिडभाड नगर्नु, सामाजिक दुरी कायम राख्नु कोरोना संक्रमणबाट बच्ने उपायहरु मध्ये एक हुन्।
तर, चितवनका खोपकेन्द्रमा केही दिनयता जनस्वास्थ्यका यही मापदण्ड पनि कतै लागू भएको देखिँदैन। खोपकेन्द्रमा बढ्दै गएको मानिसको बाक्लो भीडले जनस्वास्थ्यका मापदण्डलाई गिज्याइरहेको छ।
खोप केन्द्रमा भीड हुने हुँदा संक्रमण फैलिने जोखिम बढ्ने भएकाले उक्त जोखिम कम गर्न भन्दै जनस्वास्थ्य कार्यालय चितवनले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउन अनुरोध समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले २५ जना भन्दा बढीको भेला, भिडभाड नगर्नु नगराउनु भन्ने निर्देशन समेत दिएको छ । शिक्षा क्षेत्रमा बाहेक अन्य क्षेत्रमा प्रशासनको निर्देशनको पालना भएको देखिदैँन । विशेषगरि खोपकेन्द्रहरुमै सयौँको संख्यामा भिड लाग्ने गरेको छ ।
जनस्वास्थ्य कार्यालय चितवनकी सुचना अधिकारी गितान्जली ढकालका अनुसार सामाजिक दुरी कायमगरी खोपकेन्द्रमा बस्न जनस्वास्थ्य कार्यालयले पटक पटक अनुरोध गरेको छ । उनले भनिन् “हामी आफै खोपकेन्द्रमा गएर बारम्बार दुरी कायम गर्न र मास्क सेनिटाइजरको प्रयोग गर्न भनेको छौँ, तर दुरी बनाएर बस्यो भने लाइनमा अर्को मान्छे आएर बस्छ भन्ने धारणाले दुरी कायम गर्न मान्नुहुन्न” ।
ढकालले खोप लगाइसकेकामा पनि कोरोनाको जोखिम कायमनै रहने भन्दै, खोप पश्चात पनि मास्क प्रयोग देखि अन्य जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताइन् ।
त्यस्तै, जिल्ला प्रशासन कार्यलय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले आफुहरु पनि कोरोना प्रभावले दिक्क भएको र सेवा प्रवाह गर्न नसकेको बताउँदै, जनताको अटेरीपनले कोरोनाको जोखिम झन बढेको बताउँछन् । उनले भने, “खोपकेन्द्रमा दुरी कायम नगर्ने अटेरी बानीले बास्तवमै जोखिम बढाउँछ” ।
“प्रहरी प्रशासननै लगाएर सकेसम्म भिडभाड कम गर्ने प्रयास गरेका छौँ, तर प्रहरी प्रशासन हुदाँ अनुशासित देखिने जनता प्रहरीको अनुपस्थितीमा भने भिडभाड गर्ने मास्कको सहि तरीकाले प्रयोग नगर्ने गर्छन्” शर्माले भने।
शर्माले कोभिड खोप अभियान र खोपको सम्बन्धमा विभिन्न पत्रपत्रिका सामाजिक संजाललगायत अन्य संचार माध्यमबाट प्रकाशन हुने लेख, अभिव्यक्तिहरु सबै सत्य हुने गरेको नपाइएकोले होहल्लाको पछि नलाग्न र सत्य बुझेरमात्र अभिव्यक्ति दिन, जनस्वास्थ्यको मापदण्ड पालना गर्न र कोरोनालाई फैलन नदिन सपुुर्ण चितवनबासीहरुमा अनुरोध समेत गरे ।
खोप केन्द्रमा जब भीड बढ्छ, त्यो कोरोना संक्रमणको हटस्पट हुन सक्छ। ओमिक्रोन भेरियन्ट तिव्र गतिमा फैलिने भएकाले खोप केन्द्र यसका लागि हटस्पट बन्ने हो की भन्ने चिन्ता चितवनका खोपकेन्द्र हेरेर बढ्न जान्छ। सरकारले खोप अनिवार्य गर्नु राम्रो हो तर, खोप केन्द्र व्यवस्थापन गर्न विस्तारमा सम्बन्धित निकायले पूर्वतयारी गर्नुपर्ने देखिएको छ ।
जुन ठाउँमा कोरोनाबाट बच्न भन्ने भन्दै जाने अनि त्यहीबाट कोरोना संक्रमण भयो भने के गर्ने ?