चितवन। चितवनको रत्ननगर नगरपालिकामा हालसम्म ५१ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । रत्ननगर नगर स्वास्थ्य शाखाले हालसम्म रत्ननगरमा दुबै खोप लगाउनेको संख्या ५१ हजार नाघेको जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले रत्ननगर नगरपालिकामा हाल सबै १६ वटा वडाबाट कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको बताए । उनले भने, ‘प्रत्येक वडाबाट कोरोनाविरुद्ध खोप लगाउने चितवनको पहिलो नगरपालिका नै रत्ननगर नगरपालिका हो ।
कोरोना संक्रमितको संख्या बढेसँगै रत्ननगर नगरपालिकाले जोखिम न्यूनीकरणको लागि खोप र परीक्षण कार्यक्रमलाई तीव्रत दिएको छ । रत्ननगरमा दैनिक १५० भन्दा बढीको पिसिआर परीक्षण भइरहेको छ । हाल रत्ननगर बकुलहर अस्पतालमा निःशुल्क एन्टिजेन परीक्षण पनि भइरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले यसअघि नै बनाइएको अग्सिजनसहितको आइसोलेसन कक्षलाई पनि तयारी अवस्थामा राखेको छ । रत्ननगरमा धेरै संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।
पौडेलका अनुसार रत्ननगरमा दैनिक १० देखि १५ जना कोरोना संक्रमित भइरहेका छन् । उनले कोरोनाको तेस्रो लहरमा गम्भीर बिरामी कोही नभएका प्रायः सबै होम आइसोलेसनमा बसिरहेका बताए । उनले भने, ‘होम आइसोलेसनमा बस्नेहरुसँग नियमितजसो सम्पर्क भइरहेको छ, औषधि सेवन गर्दै घरमै बसिरहेका छन् । पहिले त घरघरै औषधि पनि लगिएको थियो, यसपटक संक्रमितको घरघरै औषधि वितरण गर्नुपर्ने अवस्था छैन ।’