चितवन । चितवनको खैरहनी नगरपालिका बाटुलो सानो नगरपालिकाको रुपमा चित्रित छ । त्यसैले यस नगरपालिकालाई कचौरा आकारको नगरपालिका पनि भनिन्छ ।
यस नगरपालिकाका प्रमुख लालमणि चौधरीले खैरहनीमा १८ वर्ष माथिका ८० प्रतिशतले कोरोनाविरुद्धको खोपको दुबै मात्रा लगाइसकेका बताए । उनले भने, ‘कोरोना संक्रमित बढिरहँदा हामीले खोपलाई प्राथमिकता दिइरहेका छौँ । अधिकांशले खोप लगाइसकेका छन् । चितवनमै पहिलो पटक खैरहनीका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले खोप पाएका छन् ।’ खैरहनीका कक्षा ६ देखि १२ कक्षामा अध्ययनतरत ५ हजार ७५० विद्यार्थीहरुले खोप पाइसकेका छन् । विद्यार्थीहरुले मोडर्ना खोप लगाएका हुन् ।
खैरहनीमा नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाले जोखिम न्यूनीकरणको लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ । । खैरहनी नगरपालिकाको स्वास्थ्य शाखाले अग्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेको छ ।
खैरहनी स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले पहिलेको आइसोलेसनहरु तयारी अवस्थामा रहेको र आवश्यक परे प्रयोग गरिने बताए । उनका अनुसार खैरहनी एन्टिजेन परीक्षण पनि तीव्र रुपमा भइरहेको छ ।
भरतपुर र रत्ननगर बकुलहर अस्पतालले धान्न नसके आइसोलेसनहरुलाई सञ्चालनमा ल्याउने खैरहनी नगरपालिकाले जनाएको छ । खैरहनीमा पछिल्लो समय कोरोनाका गम्भीर बिरामी कोही पनि छैनन् । खैरहनीका संक्रमितहरु बढी होम आइसोलेसनमा छन् । खैरहनीमा दैनिक ५ जनाको दरले संक्रमितको संख्या बढिरहेको छ ।
खैरहनीमा नगरपालिकामा निःशुल्क एन्टिजेन परीक्षण पनि भइरहेको छ । हप्ताको तीन दिनसम्म एन्टिजेन परीक्षण भइरहेको खैरहनी नगरपालिकाले जनाएको छ ।