चितवन।चितवनको कालिका नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाले जोखिम न्यूनीकरणको लागि थप गृहकार्य गरेको छ । कालिका नगरपालिकाको स्वास्थ्य शाखाले १५ बेडको अग्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेको जनाएको छ ।
भरतपुरका अस्पतालले धान्न नसके आइसोलेसनहरुलाई सञ्चालनमा ल्याउने कालिका नगरपालिकाले जनाएको छ । कालिकामा पछिल्लो समय कोरोनाका गम्भीर बिरामी कोही पनि छैनन् । होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या कालिका नगरपालिकामा अधिक छ ।
कालिका नगरपालिकाको स्वास्थ्य शाखाले संक्रमितको संख्या बढेसँगै खोपलाई प्राथमिकता दिएर काम गरिएको जनाएको छ । कालिका नगरपालिकाको स्वास्थ्य शाखाका विजय पाण्डेले कालिका नगरपालिकामा हाल दैनिक ३÷४ जनाको दरले कोरोना संक्रमितको संख्या बढिरहेको बताए । उनले भने, ‘कालिका नगरपालिमा १८ वर्ष उमेर कटेका २० हजारभन्दा बढीले खोपको दुबै मात्रा लगाइसकेका छन् ।’उनका अनुसार कालिका अस्पतालमा खोप लगाउने काम तीव्र रुपमा भइरहेको छ ।
कालिका नगरपालिकामा निःशुल्क एन्टिजेन परीक्षण भइरहेको छ । पाण्डेका अनुसार पहिला हप्ताको एकपटक मात्र एन्टिजेन परीक्षण भएको र पछिल्लो समय हप्ताको दुई दिन सोमबार र बुधबार निःशुल्क एन्टिजेन परीक्षणको काम भइरहेको छ ।