चितवन । चितवनको राप्ती नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाले पनि आफ्नो तयारी पूरा गरेको छ । राप्ती नगरपालिकाको स्वास्थ्य शाखाले २० बेडको अग्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेको जनाएको छ ।
राप्तीको भण्डारा अस्पतालमा २० बेडको अग्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेको राप्ती नगरपालिकाले जनाएको छ ।
राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले राप्ती नगरपालिकामा हाल दैनिक ३÷४ जनाको दरले कोरोना संक्रमितको संख्या बढिरहेको बताए । उनले भने, ‘राप्ती नगरपालिमा १८ वर्ष उमेर कटेका २५ हजारभन्दा बढीले खोपको दुबै मात्रा लगाइसकेका छन् ।’
उनका अनुसार राप्तीमा ३ स्थानबाट खोप लगाउने काम भइरहेको छ । भण्डारा अस्पताल, पिल्ले स्वास्थ्यचौकी र वीरेन्द्रनगर स्वास्थ्य चौकीबाट खोप लगाउने काम भइरहेको राप्ती नगरपालिकाले जनाएको छ ।
हाल राप्तीमा भण्डारा अस्पतालमा निःशुल्क एन्टिजेन परीक्षण भइरहेको छ । नगरपालिकाले थप अन्य दुई स्थानबाट पनि एन्टिजेन परीक्षण गर्ने जनाएको छ ।