चितवन । भरतपुर अस्पतालले स्वास्थ्यकर्मीमाथि भएको दुर्ब्यबहार एवं आक्रमण प्रयासको भर्त्सना गरेको छ । आज बसेको अस्पताल विकास समितिको बैठकले उक्त घटनाको भर्त्सना गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रोशन न्यौपानेद्वारा जारी विज्ञप्तिमा भेरी अस्पताल र भरतपुर अस्पतालमा भएका घटनाहरुको घोर भर्त्सना गरिएको हो ।
विज्ञप्तिमा भरतपुर अस्पताल फार्मेसीमा यही जेठ १७ गते रातीको समयमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि अज्ञात व्यक्तिले दुर्ब्यबहार एवं आक्रमण प्रयास गरेको उल्लेख छ । अस्पतालमा भएको उक्त घटनाको सम्बन्धमा आवश्यक छानविन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा आवश्यक कारवाहीका लागि अनुरोध गरि सकिएको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड १९ संक्रमण महामारीको समयमा अस्पतालको ड्यूटीमा खटिने स्वास्थ्यकर्मीहरुको उच्च मनोबल एवं सुरक्षा प्रत्याभूतिका साथ कार्य गर्ने वातावरण सिर्जना गर्न समेत प्रशासनसँग माग गरिएको छ ।
जेठ १७ गते रातीको समयमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिले अस्पतालका फार्मेसीमा कार्यरत कर्मचारीमाथि अपशब्द प्रयोग गर्ने र आक्रमणको प्रयास समेत भएको थियो । उक्त घटनाको सिसिटिभी फुटेज सहितको घटना विवरण प्रहरीमा बुझाईएको छ ।
विज्ञप्तिमा जेठ १३ गते भेरी अस्पताल बाँकेमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक हमला भएको घटनाको पनि निन्दा र भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा कोभिड १९ संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीको मनोबल उच्च राख्न सुरक्षाको प्रत्याभूति दिलाउन एवं यस्ता किसिमका निन्दनीय घटनामा संलग्न दोषी उपर हदैसम्मको कारवाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराईएको छ ।
भरतपुर अस्पतालले कोभिड १९ संक्रमितको चाप ह्वात्तै बढेसँगै विभिन्न सुरक्षा सामग्री, उपकरण तथा अक्सिजन प्रदान गरी उपचारमा महत्वपूर्ण सहयोग पु¥याउनु हुने दाता तथा सहयोगीहरुप्रति अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।