चितवन । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव भन्नुहुन्छ, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ ।”
यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउनुहुन्छ । “प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएका थिए”, उहाँले भन्नुभयो । ती दुवै गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर २०७४ चैत ४ गते राप्ती नदीमा छाडिएका थिए ।
यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ । तर कति भारत पुगे भन्ने यकिन तथ्याङ्क छैन । यसरी बगेका गोहीलाई नेपाल फर्काउन नसकिने अवस्था पनि छैन ।
विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो । नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही भेटिन्छ । नेपालमा पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ मा घडियाल प्रजनन केन्द्र स्थापना गरी गोही प्रजनन र सन् १९८१ देखि नदीहरूमा छाड्न थालेको हो । हुर्काइएकामध्ये एक हजार ५९७ गोही नेपालका नदीहरूमा छाडिएका छन् । सबैभन्दा बढी चितवनको राप्ती नदीमा ९५२ गोही छाडिएका छन् । पछिल्लो पटक यस नदीमा गत मङ््सिर १९ गते १२ वटा घडियाल छाडिएका छन् ।
यस्तै नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० वटा गोही छाडिएका छन् । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् । यो दुई वर्षअघि अर्थात सन् २०२० को गणनाको तथ्याङ्क हो । यद्यपि अहिले राप्ती र नारायणीमा गरी २४० देखि २५० घडियाल रहेको विज्ञहरूको दाबी छ ।
यस तथ्यलाई हेर्दा हाम्रा नदीमा छाडिएका गोही दक्षिणतिर गएको देखिने विज्ञ खड्का बताउनुहुन्छ । “हाम्रा गोही बगेर गइरहेका छन्, फर्केका छैनन् र फर्कने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो, “गोहीले दुई देशबीचको राजनीतिक सिमाना चिन्दैन, निस्फिक्री नदीमा विचरण गर्छ, विशेष गरी वर्षाका बेला बाँध खोलिँदा भारत बगेर गएका गोही पछाडि फर्कन नसकेका हुन् ।”
प्रमुख संरक्षण अधिकृत एवं इकोलोजिस्ट हरिभद्र आचार्य पनि भारत पुगेका गोही फर्कने सम्भावना देख्नुहुन्न । “यसको प्रमुख कारण नदीहरूमा नेपाल भारतका सीमा क्षेत्रमा बनाइएका बाँधहरू नै हुन्”, उहाँको तर्क पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, “नेपालका नदीहरूको तल्लो तटीय क्षेत्र (तराईको भाग) गोहीका लागि राम्रो बासस्थान मानिन्छ । त्यसैले गोही परापूर्व कालदेखि नै नेपाल र भारत निर्बाध रूपमा आउने जाने गर्थे, अहिले बाँध र नहरले त्यो रोकिँदा समस्या भयो ।” गोही ‘सिजनल माइग्रेसन’ गर्ने जलचर भएकाले पनि नेपाल भारत ओहोरदोहोर गर्ने उहाँको भनाइ छ ।
विज्ञहरूको अनुमानमा नेपालले छाडेका ७५ प्रतिशत गोही अहिले भारतका नदीमा छन् । यो सबैभन्दा बढी गङ््गा र त्यससँग जोडिएका अन्य शाखा नदीमै भएको अनुमान गरिन्छ । केही वर्षअघि भारतको गण्डक नदी (नेपालबाट बग्ने नारायणीलाई भारतमा गण्डक भनिन्छ)मा मात्रै २३९ वटा गोही भेटिएको विज्ञ खड्का सुनाउनुहुन्छ ।
विश्वमै सङ््कटपूर्ण अवस्थामा रहेको गोहीलाई नेपालमा प्रजनन केन्द्र बनाएर पनि जीवित राख्ने प्रयास हुनु राम्रो पक्ष हो । नेपालमा चितवन राष्ट्रिय निकुञ्जबाहेक पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा पनि घडियाल गोहीको प्रजनन केन्द्र छ । तर करोडौँ खर्च गरेर नेपालमा हुर्काइएका गोही नेपालमै रोक्न जरुरी छ । विश्व वन्यजन्तु कोषका परामर्शदातासमेत रहनुभएका निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत यादव भन्नुहुन्छ, “सीमा क्षेत्रमा रहेका नदीका ब्यारेजहरूमा सहजै जलचर ओहोरदोहोर गर्नसक्ने ‘फिस ल्याजर’को व्यवस्था गरेर भए पनि बगेर गएका घडियाललाई फर्कनसक्ने वातावरण मिलाउन जरुरी छ ।”आजको गोरखापत्र दैनिकमा समाचार छ ।