चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले देवघाट क्षेत्रलाई हिजो २ बजेदेखि आज २ बजेसम्म सिल गरेको थियो । तर नाम मात्राको सिल भयो । प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी कडाइ गरेको थियो । यो पनि नाम मात्रको भनाइ भयो ।
देवघाट क्षेत्रलाई सिल गरे पनि मानिसहरु पैदल हिँडेर देवघाट पुगेपछि कसको के लाग्छ र ? निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो लाग्यो । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाए पनि कार्यान्वयनमा आएन । भित्रभित्रै भक्तजनहरु पैदल हिँडेर देवघाट पुगे ।
माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुँइचो ज्यादै देखियो । प्रशासनले प्रवेशमा रोक लगाएपनि टाढा–टाढाबाट भक्तजन पैदलै हिँडेर देवघाट पुगे । प्रशासन हेरेको हे¥यै भयो । सवारी साधन लिएर समूह भएर जाने भक्तजनलाई प्रहरीले रोके तर पैदल जानलेलाई रोक्ने काम भएन, फेरि धर्म गर्न टाढाटाढाबाट आएका छन्, कसरी रोक्नु ।
चितवनको दासढुंगाबाट तनहुँतर्फ आउने भक्तजनले जीप कारलगायतका साना गाडी लिएर पनि देवघाट पुगेका छन् । चितवनको आँपटारीबाट देवघाट पैदल जाने भक्तजनको संख्या बढी छ ।
छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने तर समूहगत रुपमा जान नदिने निर्णय भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । ‘निषेधाज्ञा खुलाइएको छैन । एक्ला–एक्लै जाने हो भने जान दिने भन्ने कुरा भएको हो’, उनले भने ।