चितवन । चितवनका ग्राहक ‘स्मार्ट’ बन्दैछन् । एकै ठाउँमा सबथोक पाइने बजारमा ग्राहकको चाप बढी छ । भाटभटेनीजस्तो त नभनौँ, त्यस्तै सिको गर्दै चितवनको मार्केटहरुमा मार्टहरु खुल्नेक्रम बढ्दो छ । सबै सामग्री एकै ठाउँमा पाइने मार्टहरु भरतपुर १० मा मात्र १० भन्दा बढी सञ्चालन भइसकेका छन् । नारायणगढ, रत्ननगर र खैरहनी पर्सामा पनि मार्टहरु सञ्चालनमा आइसकेका छन् ।
चितवनका ग्राहक पनि स्मार्ट बनेका छन् । हिजोआज १० थरि सामान किन्न १० वटा पसल चाहर्ने ग्राहक कमै पाइन्छन् । एउटै पसलमा सबथोक किन्न मनपराउँछन् ग्राहक । पसलपसल चाहार्दै १० थरि सामन किन्ने तनावमा अब कोही ग्राहक छैनन् । ठूला मार्टहरु सञ्चालन हुँदै जानु, ग्राहक पनि यसैमा बढेपछि अब माकेर्टमात्र, मार्टमात्र स्मार्ट छैनन्, ग्राकह पनि स्मार्ट छन् भन्ने बुझिन्छ ।
मार्टहरुको भीडमा अर्को एउटा मार्ट थपिएको छ । भरतपुर १० स्थित हाकिमचोकस्थित पश्चिम दक्षिण मालिका चोकमा सुपर मार्केटको झल्को दिने गरी मार्ट सञ्चालनमा ल्याइएको छ । नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्थाले मार्ट सञ्चालनमा ल्याएको हो । संस्थाका अध्यक्ष दिव्यबाबु नेपालले मार्ट ३ गते शुभारम्भ हुने जानकारी दिए । उनले एक करोड लगानीमा मार्ट सञ्चालनमा ल्याइएको बताए । मार्टका सल्लाहकार संयोजक विनोदखण्ड तिमिल्सिनाले समुदायमा आधारित रहेर समुदायको हितमा मार्ट सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘सस्तो सर्वसुलभ रुपमा मार्टलाई अगाडि बढाउनेछौँ ।’