चितवन। सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी फुटबल क्लबले दोस्रो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत आज (बुधबार) को दोस्रो खेलमा नारायणीले एस्ट्रल युथ सोसाइटीलाई २-० ले पाखा लगाएको हो । नारायणीको जितमा अजय गुरुङ र अमृत श्रेष्ठले गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६४ औं मिनेटमा अजयले गोल गर्दै नारायणीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा अमृतले गोल गर्दै नारायणीको २-० को जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दि म्याच नारायणीका अजय गुरुङ घोषित भए । आजको जितसँगै नारायणीले समूह ‘बी’ को तालिकामा ३ खेलबाट ६ अंक बनाएको छ । यससँगै समूह ‘बी’ रोमाञ्चक बनेको छ ।
यो समूहमा रहेका शिर्ष चार टोलीको समान ६-६ अंक भएको छ । गोल आधारमा सेन्ट्रल कलेज एभरेष्ट क्लब समूहको शिर्ष स्थानमा छ भने रामपुर फुटबल क्लब रड्स दोस्रो स्थानमा छ । यस्तै बगान यात्रा ग्रुप तेस्रो तथा नारायणी फुटबल क्लब चौथो स्थानमा छ ।
हर्दी युवा समाज समान खेलबाट ३ अंकसहित पाँचौ तथा अंक बिहिन एस्ट्रल पुछारमा छ। एस्ट्रलको यो लगातार तेस्रो हार हो। आजको हारसँगै एस्ट्रल रेलिगेसनको खतरामा परेको छ । लिगमा एस्ट्रलले दुई खेल खेल्न बाँकी छ । रेलिगेसनबाट जोगिन एस्ट्रललाई बाँकी जित्नै पर्ने दबाब छ भने अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ ।
यसअघि आजको पहिलो खेलमा बगान यात्रा ग्रुपले एभरेष्टविरुद्ध रोमाञ्चक कमब्याक जित निकालेको थियो । दुई गोलले पछि परेको अवस्था उल्टाउदै यात्राले एभरेष्टलाई ३-२ ले पाखा लगायो । निकै रोमाञ्चक खेलमा यात्रालाई जिताउन सुरजराज भण्डारी, प्रविण श्रेष्ठ र विवेक राईले गोल गरे । एभरेष्टका मनिष आले मगर र शक्ति गुरुङले गोल गरे ।
खेलमा एभरेष्टले यात्राविरुद्ध सुरुवाती २ गोलको अग्रता लिएको थियो । १५ औं मिनेटमा मनिषले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा शक्तिले गोल गर्दै एभरेष्टको अग्रता दोब्बर बनाए ।
दुई गोलले पछि परेको यात्रा पहिलो हाफको अन्त्य तिर खेलमा फर्कियो । पहिलो हाफको अन्तिम २ मिनेटमा दुई गोल गर्दै यात्राले कमब्याक गर्यो । ३९ औं मिनेटमा सुरजले हेडर गोल गर्दै यात्रालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ४० औं मिनेटमा प्रविणले सुन्दर गोल गर्दै बराबरी गरे ।
बराबरी गरेपछि उत्साहित देखिएको यात्राले दोस्रो हाफमा थप एक गोल गर्यो । ५६ औं मिनेटमा यात्राका बिबेकले ट्याप इन गोल गर्दै एभरेष्टलाई निराश पारे । बाँकी समयमा गोल भएन र यात्रा ३-२ ले बिजयी भयो । खेलको म्यान अद दि म्याच यात्राका प्रविण श्रेष्ठ चुनिए ।
लिगमा बिहीबारबाट चौथो चरणको खेल सुरु हुनेछ । चौथो चरणको पहिलो खेलमा बिहीबार दिउँसो १ बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) भिड्नेछन् । बिहीबारको दोस्रो खेल दिउँसो ३ ३० बजे माडी ११ र पानस युवा समाजवीच हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा १३ टोली सहभागि छन् ।