चितवन । माडी क्षेत्रमा जग्गा खण्डिकरण र प्लटिङको कारोबार गरिआएको भू-माफिया समूहले सयौं बिगाहा जमीनमा १३१ वटा कित्ताकाटको फाइल अगाडि बढाएसंगै माडी नगरपालिका एकाएक विवादमा तानिएको छ ।
भू-माफिया समूहले माडीस्थित मालपोत र नापी कार्यालयका प्रमुखहरुको हस्ताक्षर समेत गराई कित्ताकाट र खण्डिकरण सिफारिसका लागि माडी नगरपालिकामा पेश गरेको थियो । तर नगरपालिकाका सम्बन्धित कर्मचारीले नगरपालिकाको मौजुदा निती बिपरित हुने भनी खण्डिकरणको फाइलमा हस्ताक्षर गर्न असहमती जनाएसंगै सो प्रकरण बाहिरिएको हो । सामाजिक सेवामा समेत सरिक रहेको देखाउने भू-माफियाको सो समूहले आर्थिक प्रलोभनसहित कागजी प्रक्रिया अगाडि बढाउने गरेको नगरश्रोतले बतायो ।
यसैबिच, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कित्ताकाट सिफारिसको फाइल आफू संयोजक रहेको निर्देशक समितिमा निणर्यार्थ हाल सम्म नआएको दावी गर्नुभएको छ । तत्काल कित्ताकाटको कुनै योजना नरहेको बताउँदै कृषि योग्य जमिनको संरक्षण र उत्पादनको विकासमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । माडीका केहि राजनैतिक दलले जग्गा कित्ताकाटबारे राखेको चासोप्रति आभारी रहेको बताउँदै उहाँले खेतियोग्य जमिनलाई खण्डीकरण नगर्ने र नगराउने नगरपालिकको निती रहेको बताउनुभयो ।स्वदेश एफएमबाट