चितवन । चितवनको खैरहनी नगरपालिकाले सुचना प्रविधिको क्षेत्रमा चितवनका अन्य पालिकालाई उछिन्दै फड्को मारेको छ । हिजो (बिहिबार) खैरहनीमा भएको विद्युतीय भुक्तानीको सेवा सुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिकाले अनलाइन विद्युतीय प्रणालीबाट राजस्व तिर्न सक्ने व्यवस्था मिलाएको हो। सेवा सुभारम्भ भएसँगै खैरहनी नगरबासीहरुले अब घरमै बसेर राजस्व तिर्न सक्ने सक्ने भएका छन् ।
खैरहनी नगरपालिका ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीले आफ्नो राजस्व तिरेर यो सेवाको सुभारम्भ गरे । यो सँगै उप्रेती ई–पेमेन्टमार्फत राजस्व बुझाउने नगर भित्रका पहिलो व्यक्ति बनेका छन् । खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले विद्युतीय भुक्तानीको सुभारम्भ गर्दै यो सेवालाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताए । मेयर चौधरीले प्रविधिले आम मानिसको जिवन सहज बनाउनुका साथै समयको बचत पनि हुने भएकाले अनलाईन सेवा नगरपालिकाले संचालनमा ल्याएको प्रष्ट पारे ।
खैरहनी नगरपालिका सुचना तथा प्रविधि अधिकृत सुरेश चौधरीले विद्युतीय प्रणालीको जानकारी गराउँदै पहिलो पटक वेवसाईट मार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोश्रो पटकदेखी मोबाईलबाटै राजस्व तिर्न सकिने बताए। ‘सिफारिस वाहेकका राजस्व यो सेवा मार्फत तिर्न सकिनेछ, राजस्व वुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोवाइलमा आउँछ’ चौधरीले भने ।
खैरहनी–२ का वडाध्यक्ष एवम् सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने लगायतको उपस्तिथी रहेको थियो ।