चितवन । प्रधानमन्त्री कप बागमति प्रदेश छनौट प्रतियोगिता अन्तर्गत भएका रोमाञ्चक खेलमा नुवाकोटलाई पराजित गदै चितवन फाइनलमा प्रवेश गरेको छ । नुवाकोटलाई १ रनले पराजित गर्दै चितवनले बागमति प्रदेश छनौट प्रतियोगिताको फाइनलमा आफनो स्थान पक्का गरेको हो ।
आज ( बुधबार) काठमाडौंको मुलपानि क्रिकेट रंगशालामा भएको खेलमा चितवनले टस जितेर ब्याटिङ गर्दै १७.४ ओभरमा ७३ रनमा अलआउट हुदैँ ७४ रनको झिनो विजय लक्ष्य नुवाकोट सामु प्रस्तुत गरेको थियो । ७४ रनको विजय लक्ष पाएको नुवाकोटले लक्ष्य पछयाउने क्रममा १४ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ७२ रन बनायो ।
नुवाकोटका अशोक पौडेलले ३८ बलमा ३५ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न समेत सकेनन् । नुवाकोटलाई जितबाट रोक्न चितवनका कप्तान दिपेश श्रेष्ठले ४ ओभरमा ११ रन दिदै ३ विकेट लिए । त्यस्तै, गौतम के.सीले ४ ओभरमा १८ रन दिदैँ ३ विकेट हात पारे । चितवनका अर्का बलर हेमराज पौडेलले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने प्रशान्त महतको भागमा १ विकेट रह्यो ।
त्यस्तै, ब्याटिङ तर्फ चितवनका ब्याट्सम्यान हेमराज पौडेलले २६ बलमा ५ चौकाको मदतले २६ रन बाउन सफल भए भने, चितवनका सपनिल अधिकारीले १७ बलको मदतमा ११ रन बनाए । त्यस्तै साकार ढकालले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।
खेलमा म्यान अफ दि म्याच चितवनका हेमराज पौडेल घोषित भए । जितसँगै चितवन आफनो समुहको समुह ‘बि’को विजेता बनेको छ । यस अघिको खेलमा चितवनले काठमाण्डौँलाई ४४ रनले पराजित गरेको थियो र सो खेलको म्यान अफ दि म्याच चितवनका सुजन चापागाईँ भएका थिए ।
चितवनले पर्सि फाइनल खेल त्रिभुवन अन्तर्राष्टिय क्रिकेट रङगशालामा समुह ‘ए’को समुह विजेतासँग खेल्दै छ ।