चितवन । आजबाट चितवनमा चरा गणना सुरु भएको छ । आज चरा गणनाको पहिलो दिन पूरा भएको छ । बर्ड एजुकेसन सोसाइटीका सचिव नारायण रिजालले आज पहिलो दिन ५६० चखेवाचखेवी भेटिएको बताए । उनका अनुसार आज लामी ताल, तमोर ताल, पटना तालमा चरा गणना भएको थियो । उनले आज पहिलो दिन राप्तीको लोथरदेखि कसरासम्म चरा गणना भएको बताए । चितवनमा तीन दिनसम्म चरा गणना हुने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ ।
जनवरी १ बाटै कोशी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका ताल तलैयामा गणना थालिएको भए पनि अन्य क्षेत्रमा क्रमशःगणना गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । भोलि विषहजारी ताल र आसपासका तालम गणना गरिने छ ।
छुटपुटका ठाउँमा ७ तारिखमा गणना गरिने छ । यस्तै पश्चिम चितवनमा ७ तारिखमा चरा गणना गरिंदै छ । नेपाल चराविज्ञ सङ्घका प्रतिनिधि हठन चौधरीका अनुसार राप्ती नदीको घठगाईदेखि गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाजापुरदेखि गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ ।
वर्ड एजुकेशन सोसाइटीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा गणना गर्न लागिएको हो । सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिएको बताए । गतवर्ष चितवनमा ५५ प्रजातीका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन १९८७ बाट चरा गणना थालिएको हो । गणनाको नेतृत्व गर्दै आएका पक्षी विशेषज्ञ डा हेमसागर बराल चराको सङ्ख्या, अवस्था, सिमसारको अवस्था, चराले भोग्नु परेका बाधा व्यवधानलगायतको अध्ययन यसै क्रममा गरिने बताए ।