चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले माछा खरिद प्रकरणमा आफू पीडित भएको बताएका छन् ।
चितवन प्रेससँगको कुराकानीमा सिडिओ तामाङले आफू ठगिएको बताए । उनले भने, ‘म पीडित भएको कसैले नदेख्ने ? म आफैँ ठगिएको छु ।’ उनले २४० रुपैयाँमा पोखरीबाट माछा खरिद गरेर फार्ममै ४०० रुपैयाँ व्यवसायीबाट बेचिएको दावी गरे । । उनले भने, ‘म उपभोक्ता बनेर माछा खरिद गर्दा व्यवसायीबाट ठगिएँ । दावी गरे । मैले माछा फार्ममै लिँदा मलाई ३०० रुपैयाँ लिइयो । यतिबेला सबैसँग परामर्श गरिरहेको छु, गृहमन्त्रालयमा पनि जानकारी गराएको छ ।’
सिडिओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने नचलाउने विषयमा आफू परामर्शमा रहेको बताए।
माछा व्यवसायीले सोमबार प्रेस विज्ञप्ति जारी गरि सिडिओ तामाङले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । सिडिओ तामाङले माछाको मूल्य बढी लिएको भन्दै आफ्नो पदीय मर्यादा विपरित चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दुर्व्यवहार गरेको व्यवसायीको आरोप छ ।
नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरि सिडिओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको बताएको छ । सिडिओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरि माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन् ।
यस्तो थियो घटना
व्यवसायीका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।
पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि लुलाराजले नै सिडिओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे । त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आए । बेलुकी ५ बजेपछि सिडियो तामाङ पत्नी र सहायक सिडिओ श्रीमतिसहित उनको पसलमा पुगे ।
‘तँ होइन बढी पैसा लिएर माछा बेच्ने । तँ कालाबजारी गर्ने भन्दै अपशब्द बोल्दै गाली गलौज गर्नुभयो’, उनले भने, ‘आफू सिडिओ भएको र आफू प्रशासन भएको भन्दै तथानाम गाली गर्नुभयो ।’
सिडिओ तामाङको थप भनाइ
प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सिडिओ तामाङको भनाइ छ । ‘मैले पुष ९ गते पनि फार्मबाट प्रतिकेजी २४० रुपैयाँमा ७ किलो माछा ल्याएको थिएँ। हिजोपनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।