काठमाडौं। निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।
भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।
कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।
उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।