चितवन । पछिल्लो समय चितवन जिल्लामा घरेलु हिंसा सहेर बस्नेको संख्या घटेको पाइएको छ । चितवन प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनको अवधिमा जिल्लामा ५० वटा घरेलु हिंसाका घटना अदालत प्रक्रियामा गएका छन् । जब कि आर्थिक वर्ष २०७७-७८ मा जम्मा २२ वटा मात्र घरेलु हिंसाका घटना अदालत प्रक्रियामा गएका थिए । आर्थिक वर्ष २०७६-७७ मा घरेलु हिंसाका घटना अदालतमा एउटा पनि गएका थिएनन् ।
चालु आर्थिक वर्षको साउनमा १४ वटा घरेलु हिंसाका घटना चितवन अदालत पुगे । यस्तै, भदौमा ८, असोजमा ९, कार्तिकमा ८ र मंसिरमा ११ वटा घरेलु हिंसाका घटना अदालत प्रक्रियामा पुगेका छन् । चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार प्रहरीले घरेलु हिंसासम्बन्धी जनचेतना जगाएसँगै हिंसा सहेर बस्नेको संख्यामा कमी आएको छ । उनले भने, ‘पहिला घरेलु हिंसालाई घरको झगडा भनिन्थ्यो, घरमै सहेर बस्नेहरु धेरै थिए, अदालत त परको कुरा निवेदन दिनसमेत डराउँथे, अहिले हिंसा सहन हुँदैन, कानुनी कारबाहीमा उठ्नुपर्छ भन्ने चतेना बढेको छ । अदालतसम्म पुग्नुपर्छ भन्ने मान्यताको विकास भएको छ ।’
उनका अनुसार प्रहरीले यसअघि घरेलु हिंसासम्बन्धी १६ दिने अभियान पनि भर्खर सकेको छ । चितवन प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५ महिनाको अवधिमा १३८ वटा घरेलु हिंसाका घटनाहरुलाई मिलापत्र गरेर टुङ्गाएको छ । प्रवक्ता अधिकारीका अनुसार साउनमा ३५, भदौमा ३४, असोजमा २४, कार्तिकमा २५ र मंसिरमा २० वटा घरेलु हिंसालाई मिलापत्र गरेको छ । आर्थिक वर्ष २०७७-७८ मा १३२ वटा घरेलु हिंसा मिलापत्र भएका थिए ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १९२ वटा घरेलु हिंसाका उजुरी परेका छन् । साउनमा ४९, भदौमा ४२, असोजमा ३३, कार्तिकमा ३३ र मंसिरमा ३५ वटा घरेलु हिंसाका उजुरी परेका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । गत आर्थिक वर्ष २०७७-७८ मा १५४ वटामात्र घरेलु हिंसाको उजुरी परेको थियो । प्रवक्ता अधिकारीले भने, ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा घरेलु हिंसाको उजुरी बढी छ, यसको कारण अब हिंसा सहेर बस्न हुँदैन, उजुरी गर्न जानुपर्छ भन्ने चेतना समाजमा बढ्दै गइरहेको छ ।’
यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा गाली बेइज्जतिको ४५, कुटपिटका ९३ र खान लाउन नदिएको ५४ वटा उजुरी प्रहरी कार्यालयमा परेको छ । गत वर्ष २०७७-७८ मा ४४ वटा कुटपिटका र ७७ वटा खान लगाउन नदिएको उजुरी परेको थियो ।