चितवन । एमाले चितवनको जिल्ला अधिवेशन नजिकिँदै आइरहेको छ । पुस २३ र २४ गते अधिवेशन सम्पन्न गर्ने एमाले चितवनले जनाएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य पार्वती रावलका अनुसार जिल्ला अधिवेशनको लागि पुस १७ गते जिल्लाका ९८ वडाबाट प्रतिनिधि छनौट हुनेछ ।
रावलका अनुसार जिल्लाका ९८ वटा वडा र दुई शाखा कमिटी गरी एक सय वटा इकाइबाट प्रतिनिधि छनौट हुनेछ । जसअन्तर्गत तीन सय सदस्य बराबर तीन जना प्रतिनिधि हुनेछन् । तीन प्रतिनिधिमा एक जना महिला अनिवार्य गरिएको छ ।
यस्तै सात पालिकालाई आधार मानेर एक सय दलित सदस्य बराबर तीन जना प्रतिनिधि छनौट हुनेछन् । ती तीन जना प्रतिनिधि मध्ये ए जना दलित महिला अनिवार्य गरिएको छ । यस्तै मुस्लिम, अपाङ्गता, मधेशीबाट जिल्लालाई आधार मानेर तीन-तीन जना प्रतिनिधि हुनेछन् । ती तीन जना प्रतिनिधिमध्ये एक-एक जना महिला अनिवार्य गरिएको छ । एमाले चितवनले अधिवेशनको लागि प्रतिनिधि छनौटको काम अघि बढिरहेको जनाएको छ । अधिवेशन नजिकिँदै गर्दा एमाले चितवनमा नेतृत्वदेखि पदाधिकारीका आकांक्षीहरु बढ्दै गइरहेका छन् ।