काठमाडौं। पाँचौँ चरणसम्म एएफसी कप खेल्न शीर्ष स्थानमा आफ्नो पकड बनाएको मनाङ मर्स्याङ्दी क्लब मछिन्द्र फुटबल क्लबसँग पराजित हुँदा सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा गुमायो ।
शनिबार बल पोसेसन र आक्रमणमा मछिन्द्रभन्दा बढी प्रभाव जमाएको मनाङ अन्तिम समयमा सेट पिसको सिकार बन्याे । सुनील बलको आकर्षक फ्री किक गोल मद्दतमा मछिन्द्रले मनाङमाथि १-० को जित निकाल्दै शीर्ष स्थानमा आफ्नो कब्जा जमायो ।
शीर्ष स्थानमा कब्जा जमाउनुको महत्व छुट्टै छ । शीर्ष डिभिजन लिगको छैटौं चरणको खेल सकिएको छ । सोमबारको एक खेलसँगै छैटाैँ चरणको खेल सकिएको हो । यस पटक लिग जित्ने टोलीभन्दा पनि सातौं चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कप-२०२२ खेल्न छनोट हुनेछ ।
एएफसी कप खेल्न एएफसी लाईसेन्स अनिवार्य हुनुपर्छ । त्यसका लागि मनाङ र मछिन्द्रसँगै विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले मापदण्ड पूरा गरेका छन् ।
आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । एएफसी छनोटमा मनाङ र मछिन्द्रलको लडाइँ छ । छैटौं चरणको जितले मछिन्द्रले सम्भावना बढाएको छ ।
यता, मनाङको भने अंक गणितीय सम्भावना मात्र बाँकी छ । यदि सातौं चरणमा मछिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भए र मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई पराजित गरे मात्र मनाङको सम्भावना रहन्छ ।
जारी शीर्ष डिभिजन लिगमा मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा छ । यता, १३ अंकसहित मनाङ दोस्रो स्थानमा छ । १२ अंकसहित संकटा तेस्रो स्थानमा रहँदा आर्मी १० अंकसहित चौथो स्थानमा छ । समान ८ अंकका सातदोबाटो र हिमालयन शेर्पा पाँचौ र छैटौं स्थानमा छन् ।
समान ७ अंकको थ्री स्टार, न्युरोड टिम एनआरटी र जावलाखेल क्रमशः सातौँबाट नवौं स्थानसम्म छन् । यता, ६ अंक बनाएको पुलिस १० औंस्थानमा छ भने समान ५ अंकका एपीएफ र बीबीसी ११ र १२ औं स्थानमा छ । चार अंकको च्यासल र तीन अंंकको फ्रेण्ड्स भने रेलिगेशन जोनमा छन् ।
जारी लिगमा ६ चरणसम्म तीन अंक बनाएको फ्रेण्ड्सलाई भने रेलिगेशनको चिन्ता छ । खराब प्रदर्शनलाई निरन्तरता दिएको फ्रेन्ड्स लिगको इतिहासमा पहिलो पटक रेलिगेशन पर्ने संघारमा छ ।
समग्रतामा छैटाैँ चरणमा १६ गोल निस्किए । एपीएफ र एनआरटीको खेलमा लिगकै सर्वाधिक ६ गोल भए । खेल भने नतिजाविहीन रह्यो । यता, शेर्पाले समेत च्यासलविरुद्ध ३-१ को ठूलो जित पायो । दुई खेलमात्र गोलविहीन रहे ।
अब, सातौँ चरणको खेल शुक्रबारबाट सुरू हुनेछ । ६ खेल दशरथ रंगशालामा हुँदा एक खेल पोखरा रंगशालामा हुनेछ ।
छैटौँ चरणको नतिजा
एपीएफ फुटबल क्लब ३-३ न्यरोड टिम एनआरटी
नेपाल पुलिस ०-० फ्रेण्ड्स
हिमालयन शेर्पा क्लब ३-१ च्यासल युथ क्लब
मनाङ मर्स्याङ्दी क्लब ०-१ मछिन्द्र फुटबल क्लब
संकटा क्लब ३-० ब्रिगेड ब्वाईज क्लब
थ्री स्टार क्लब ०-० त्रिभुवन आर्मी फुटबल क्लब
सातदोबाटो युथ क्लब ०-२ जावलाखेल