काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् ।
अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई सस्तो बनाएको उल्लेख गरे । २०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधान बनाउने क्रममा आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन एमाले महासचिव माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर नागरिकता सम्बन्धी प्रावधान राख्दा धेरै बिचार गर्न दौडधूप गरेपनि उनीहरुले नमानेको गुनासो गरे ।
उनले अहिले नयाँ नागरिकता लिने जनसंख्या बढिरहेको बताउँदै नेपालको सिमा नाकाको धेरै जग्गा भारतीयले किनिसकेको बिजुक्छेको दावी गरे । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिँदा देशका कार्यकारी निकायमा बिदेशी पुग्ने र मुलुक सिक्किमीकरणतिर फिजिकरणतिर जाने बिजुक्छेले बताए । उनले नेपाली जनताको हितका लागि नभई भारतको हितका लागि नेपालमा नागरिकतासम्बन्धी विवाद आउने गरेको दावी गरे ।