गैँडाकोट । गैँडाकोट नगरपालिका १६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुको साथबाट १ थान पेस्तोल र ४ राउण्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका १ बस्ने २२ वर्षीय रामबहादुर क्षेत्री, गैँडाकोट नगरपालिका १४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका ९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।
स्थानीय महिला पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्दै गर्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । स्थानीयबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले तत्काल अन्य दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
गैँडाकोट नगरपालिका १४ स्थित भाग्दै गरेको अवस्थामा अन्य दुईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संजय गुरुङको साथबाट एउटा पेस्तोल फेला पारेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।