चितवन। नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताए ।
देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट नखोजिए गम्भीर संकट पैदा हुने भन्दै वर्तमान संकटको समाधान निर्वाचनबाटै हुने उनले बताए ।
‘कुनै पनि क्षण देशले निर्वाचनतर्फ जान खोजेको हो कि भन्ने देख्छु’, उनले भने, ‘अर्थतन्त्रमा केहि गम्भीर नकारात्मक लक्षणहरू पनि देखापरेका छन् ।’ १४ महिनालाई धान्ने भनिएको वैदेशिक मुद्राको संचिती सात महिनामै अपुग देखिएको उनले बताए ।
आयात तीव्र रुपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उनले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको उनले बताए । ‘पर्याप्त वैदेशिक मुद्राको संचिती भएन भने अनेक सर्तमा ऋण लिनुपर्ने अवस्था आउँछ । त्यसका लागि धेरै मूल्य चुकाउनुपर्छ’, उनले भने ।
सरकारले भर्खर मात्रै ४० अर्ब ऋण लिन खोजेको भन्दै त्यसले मात्रै नपुग्ने उनले बताए । ‘पाँच महिनामा पुंजिगत खर्च ६ प्रतिशत मात्रै छ । सरकारले राजस्व लिइरहेको छ । तर, खर्च गर्न सकेको छैन, जसका कारण बैंकहरूमा तरलताको अभाव भएको छ’, उनले भने ।