चितवन । नेपाली कांग्रेसमा चितवनले हालसम्म एक जना पनि केन्द्रीय सदस्य पाएको थिएन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएर चितवनका युवा नेता दिनेश कोइरालाले इतिहास रचेका छन् । उनी नेपाली कांग्रेसमा चितवनकै पहिलो केन्द्रीय सदस्य बनेका छन् । उनी १७८१ मत ल्याई निर्वाचित भए । निर्वाचित हुनेको सुचीमा उनी ३१ नम्बरमा परेका थिए ।
२०७४ सालको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा मेयर टिकट पाएर पनि गठबन्धनका कारण बीचमै छोड्न बाध्य भएका कोइरालालाई महाधिवेशन प्रतिनिधिहरुले जिताइछाडे । उनले कांग्रेसमा चितवनको पहिलो केन्द्रीय सदस्य बने्र इतिहास रच्न पाएकोमा खुसी व्यक्त गर्दै सबै मतदातालाई धन्यवाद दिएका छन् ।
शेखर कोइराला प्यानलबाट निर्वाचित भएका कोइरालाले चितवनको पहिलो केन्द्रीय सदस्य बनेर ७० वर्षकै इतिहासमा पहिलो केन्द्रीय सदस्य बनेर चितवन जिल्लालाई उचाइमा लगेका छन् । कोइरालाले यसलाई आफ्नो मात्र नभई चितवन कांग्रेसको जित भएको बताएका छन् । जेसीजका पूर्वअध्यक्षसमेत रहेका कोइराला नेपाली कांग्रेसमा युवाको ढुकढुकी नै थिए । नम्र स्वभाव, कसैलाई नबिझाउने सरल र सालिनताको स्वभाव रहेका कोइराला भरतपुर ६ गीतानगर निवासी हुन् ।
२०७४ सालको स्थानीय तहको चुनावमा भरतपुर महानगरको मेयरमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहको टकराव बढेपछि सिटौला पक्षबाट दिनेश कोइरालाले टिकट पाएका थिए । नेपाली कांग्रेस र माओवादी केन्द्रको केन्द्रमा गठबन्धन भएपछि दबाबमा दिनेश कोइरालाले मेयरको टिकट मुटुमाथि ढुंगा राखी त्याग्न परेको थियो । त्यो बेला भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी गठबन्धनबाट रेनु दाहाल मेयरमा उठेकी थिइन् । उनी निर्वाचितसमेत भइन् ।