चितवन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अन्तर्पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इञ्चार्ज पनि तोकेको छ ।
त्यसमा चितवनका नेता रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् । त्यस्तै, देवीप्रसाद ज्ञवालीलाई चितवन जिल्ला इञ्चार्जको जिम्मेवारी तोकिएको छ। ज्ञवालीले इञ्चार्जको जिम्मेवारी पाउँदा नेतृ पार्वती रावललाई चितवन जिल्ला सहइञ्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै शिवकुमारी गोतामे (सार्की)लाई पनि चितवन जिल्ला सहइञ्चार्ज तोकिएको छ ।
अर्का नेता काशीनाथ अधिकारीले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् । जगन्नाथ थपलियाले शिक्षा विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै प्रभा बराललाई स्थानीय तह विभागको उपप्रमुखको जिम्मा दिइएको छ । कपिलदेव पोखरेलले पार्टी स्कूल विभागको सदस्यको जिम्मेवारी पाएका छन् । पूर्व गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई अखिल नेपाल महिला संघ तथा सम्बद्ध संगठनहरूको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।