चितवन । चितवनको भरतपुरस्थित प्रदर्शन केन्द्रमा आजबाट औद्योगिक प्रदर्शनीको छैटौँ संस्करण सुरु भएको छ । पुस ४ गतेसम्म प्रदर्शनी चल्नेछ । आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले प्रदर्शनीको उद्घाटन गरेकी छन् । उनले औद्योगिक प्रवद्र्धन गर्न यस्ता प्रदर्शनीहरु हुनुपर्ने बताइन् ।
चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुन भएको हो । २०६६ सालदेखि आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको विस्तारित संस्करण स्वरुप यसवर्षदेखि नियमित वार्षिक कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी गरिएको हो । प्रदर्शनीमा उद्यमीदेखि विद्यार्थीसम्मको घुइँचो लागेको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुऱ्याउने ससाना औजार उपकरणदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूको प्रदर्शनी गरिएको छ ।
प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, आधुनिक औद्योगिक प्रविधिवारे जानकारी राख्न इच्छुक व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगका सञ्चालकहरु, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमीका व्यवसायिक परामर्शदाताहरू, वित्तिय सेवा प्रदायकहरू, खोज अनुसन्धानकर्ता, शैक्षिक संघ संस्थाका प्रतिनिधिहरु अवलोकनकर्ताको रूपमा आइरहेका छन् । प्रदर्शनीमा राष्ट्रिय आविस्कार केन्द्रको स्टल पनि रहेको छ ।
यसबाट उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नविनतम प्रविधिहरुको अनुसरण मार्फत औद्योगिक उत्पादकत्ववृद्धि सहित दिगो उद्यमशिलताका लागि उपयुक्त माध्यम बन्ने विश्वास लिइएको यस प्रदर्शनीमा हुने स्वदेशी एवम् विदेशी उद्योगीहरू बीच प्रत्यक्ष भेटघाट र छलफलको माध्यमबाट स्वदेशी औद्योगिक उत्पादनको विश्व बजारमा पहुँच पुग्ने विश्वास लिइएको उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । प्रदर्शनीमा २०० स्टल रहेका छन् ।