काठमाडौंं। एन्फाको आयोजनामा आज (शुक्रबार) बाट पाँचौ चरणका खेलहरु हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो दिनका दुई खेल १ बजे र पौने पाँच बजे सुरु हुनेछ ।
पहिलो खेलमा नवप्रवेशी सातदोबाटोले साविक उपविजेता आर्मीलाई चुनौती दिँदैछ । जारी लिगमा सुरुआती ३ खेलमा सातदोबाटो निकै लयमा रह्यो । शीर्ष डिभिजन लिग पहिलो पटक खेलको उसले अन्तिम चौथो खेलमा मात्रै हार बेहोरो ।आर्मी भने अन्तिम २ खेलबाट मात्रै आफ्नो लय समात्ने प्रयासमा छ ।
पाँचौ चरणमा दुबै टोली तीन अंक जोड्ने दाउमा छन् । खेल निकैनै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । मान बहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।
भरत खवासको कप्तानीमा रहेको अपराजित आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने दाउँमा छ ।
लिगको दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई संकटाले चुनौती दिनेछ । रवि सिलवालको कप्तानीमा रहेकोसंकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ । मछिन्द्र ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ ।
साझ हुने खेलमा संकटा मछिन्द्रलाई हराएर अप्रत्यासित नतिजा दिने दाउँमा हुनेछ । युवा प्रशिक्षक बिष्णु गुरुङको साथ पाएको संकटाले युवा र अनुभवी खेलाडीको साथ मछिन्द्रलाई सहज जितबाट बञ्चित गराउने योजनामा छ ।
यता, संकटालाई हराएर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्र शीर्ष स्थान कायम राख्न चाहन्छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई समेटेको मछिन्द्र अपराजित यात्रा कायम राख्दै एएफसी कपमा छनोट हुने दाउँमा हुनेछ ।