चितवन । तपाइँ शिक्षक बन्न चाहनुभएको छ ? यदी चाहनुभएको छ भने तपाइँलाई सुनौली अवसर आउँदैछ । इतिहासमै सबैभन्दा बढी शिक्षकको माग यसपटक भएको छ । शिक्षक सेवा आयोगले आगामी महिना थप १५ हजार ६८५ जना शिक्षकको विज्ञापन खोल्ने तयारी गरिहेको छ ।
आयोगले बुधबार मात्रै माध्यमिक तहका लागि एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको छ । पुस तेस्रो साताभित्र थप साढे १५ हजार शिक्षकको पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न आयोग लागेको छ । यसपल्ट आयोगले पहिलोपल्ट अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ।
यत्तिका संख्यामा विज्ञापन खुलाएको यो नै पहिलोपल्ट हो। यसअघि २०७५ मा खोलिएको आवेदनको प्रावि तहमा ९ हजार ९९६, माविमा १ हजार ९७ र निमाविमा १ हजार ५७४ जना गरी १२ हजार ६६७ जनाको आवेदन खुलाइएको थियो।
परीक्षार्थीले अनलाइनमा सम्पूर्ण विवरणसहित फारम भर्नुपर्छ। त्यसपछि आवेदन शुल्क भुक्तानीका लागि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमध्ये आफूलाई एउटा पायक पर्ने बैंक छनोट गर्नुपर्छ। लगत्तै सिस्टमले परीक्षार्थीको नाममा भौचर दुई वटा भौचर (बैंक र परीक्षार्थी प्रति) तयार गरिदिन्छ। उक्त भौचर डाउनलोड गरी परीक्षार्थी बैंकमा गएर शुल्क बुझाउन सक्छन। बैंकमा शुल्क बुझाएपछि रुजु भएको केही समय पनि अनलाइनबाटै परीक्षार्थीले प्रवेशपत्र प्रिन्ट गर्न पाइन्छ।
शिक्षा नियमावलीमा भएको संशोधनअनुसार यसपल्ट सामान्य र विषयगत गरी २०० पूर्णाङ्कको लिखित परीक्षा हुनेछ। चैत्र १५ गतेलाई तोकिएको मावि तहको सामान्य परीक्षा १०० पूर्णांकको हुन्छ। त्यसमा कम्तीमा ५० अंक ल्याउने परीक्षार्थी विषयगत परीक्षामा सामेल हुन पाउनेछन्। सामान्य परीक्षामा ल्याइएको पूर्णाङ्कको ५० प्रतिशत नम्बर विषयगत परीक्षामा जोडेर नतिजा निकालिने छ ।