चितवन । यसअघि स्मार्ट कार्ड लाईसेन्स नवीकरण गर्दै आएको यातायात व्यवस्था कार्यालय चितवनले भोली (बिहीबार)बाट पेपरकार्ड लाईसेन्स नवीकरण सेवा शुरु गर्ने भएको छ । आज कार्यालयले पत्रकार भेटघाट गरी यसबारेमा जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै कार्यालय प्रमुख विनोद पौडेलले स्मार्टकार्ड लाइसेन्स नवीकरण प्रभावकारी भएको भन्दै भोलि (बिहीबार)बाट पेपरकार्ड लाइसेन्स नवीकरण सेवा शुरु गरिन लागेको जानकारी दिए । पौडेलका अनुसार सेवाग्राहीले अनलाईन सेवा मार्फत इ–टोकन प्रणाली अनुसार सेवाको समय निश्चित गर्न सक्नेछन । सेवालाई प्रविधि मैत्री बनाउने उद्धेश्यसहित र बढी भीडभाड नहोस भन्ने हेतुले अनलाईन मार्फत सम्पूर्ण सेवा शुरु गरिएको जानकारी दिए । यस कार्यालयमा नवीकरण गर्ने सेवाग्राहीको लाईसेन्स सम्बन्धित प्रदेशको या स्थायी बसोबास बाग्मती प्रदेश या सम्बीनधत जिल्लाको हुनुपर्ने उनको भनाई छ ।
यसका लागि इ–टोकन लिईसकेपछि इ–टोकन नम्बरको क्यूआर कोड , सक्कल र फोटोकपी सहितको चालक अनुमति पत्र, सक्कल नागरिकता र प्रतिलिपि नागरिकता चाहिनेछ । नागरिकताको ठेगाना र चालक अनुमतिपत्र बागमती प्रदेशबाट जारी नभएमा बसाईसराईको प्रमाणपत्रको साथ नवीकरण गर्न सकिने पौडेलले बताए । सरकारी कर्मचारीको हकमा कार्यरत कार्यालयको सिफारिस सहित नवीकरण गर्न सकिनेछ ।
प्रदेशको चालक अनुमतिपत्रबाट संकलित राजश्व सम्बन्धित प्रदेशमै संकलित होस भन्ने हेतुले संघीय सरकारको यातायात व्यवस्था विभागको कार्यविधि अनुसार नवीकरण गरिने उनले बताए ।
यस प्रविधिबाट सेवाग्राहीलाई झन्झट कम हुनुका साथै नक्कली अनुमतिपत्र लाई निरुत्साहित हुने उनको भनाई छ ।