चितवन । प्राध्यापक डाक्टर वरिष्ठ अर्थोपेडिक सर्जन प्राध्यापक सुरेश पाण्डेद्वारा लिखित “ टेक्स बुक्स अफ अर्थोपेडिक्स “ नामक पुस्तकको विमोचन गरिएको छ । भरतपुरमा सोमबार एक कार्यक्रमका बीच बरिष्ठ चिकित्सक प्राडा आनन्द प्रसाद रेग्मी,प्राडा अर्जुन श्रेष्ठ,प्राडा भक्तमान श्रेष्ठ, डा सुदिपमान बैद्य विमोचन गरेका हुन्।
विमोचन कार्यक्रममा बोल्दै लेखक प्राडा पाण्डेले आफूले निरन्तर ६ बर्ष लगाएर यो पुस्तक प्रकाशित गर्न सफल भएको बताए ।
अर्थोपेडिक अध्ययन तथा अध्यापन गर्ने नेपाली विद्यार्थीका लागि यो पुस्तक अत्यन्त फलदायी हुने प्राडा डाक्टरको भनाई छ । संभवत नेपालमा पहिलोपटक यस बिषयमा प्रकाशन गरिएको यस पुस्तक एमबिबिएस तथा अर्थोपेडिक सर्जरीमा अध्ययनरत विद्यार्थीका लागि उपयोगी हुने बताईएको छ ।
सो अवसरमा बोल्दै प्राडा भक्तमान श्रेष्ठले चिकित्सकले कर्म र किताब लेख्नु अत्यन्त चुनौति काम रहेको भन्दै चिकित्सा क्षेत्रमा यो किताबले थप आयाम ल्याउने बताए । आफ्नो चिकित्सा कर्म यात्रामा पुस्तक निकाल्न नसकेपनि यस पुस्तक प्रकाशनले अन्य चिकित्सकहरुलाई पनि प्रेरणा मिल्ने उनको भनाई थियो ।
अर्का बरिष्ठ चिकित्सक प्राडा आनन्द प्रसाद रेग्मीले अधिकांश पुस्तकहरु विदेशी लेखकहरुले लेखिएका पढ्नुपर्ने नेपाली चिकित्सा विद्यार्थीहरुको बाध्यता रहेको भन्दै उनले यस बिषयका विद्यार्थीको लागि यो पुस्तक मार्गदर्शन र पथप्रदर्शक हुने बताए ।
कार्यक्रममा प्राडा अर्जुन श्रेष्ठ, डा सुदिपमान बैद्य,नेपाल पत्रकार महासंघ,चितवनका उपाध्यक्ष प्रकाश ज्ञवाली,प्राडा माधव घिमिरे, डा प्रमोद लामिछाने, डा गोपेन्द्र देव लगायतले पाण्डे र पुस्तकबारे चर्चा गरेका थिए ।
लेखक प्राडा पाण्डे चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेज (सिएमएस) भरतपुरको अर्थोपेडिक विभागमा कार्यरत छन् । प्राडा पाण्डे नेपाल अर्थोपेडिक एशोसियसन चितवन शाखाको अध्यक्ष समेत हुन् ।