काठमाडौं। जावलाखेल यूथ क्लबले सहिद स्मारक ए डिभिजन लिग अंक खाता खोलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न चौथो चरणको अन्तिम खेलमा जावलाखेलले ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै अंक खाता खोलेको हो ।
जावलाखेल चार खेलमा एक अंकसहित १३औं स्थानमा छ भने समान खेलमा समान एक अंक जोडेको एपिएफ चौधौ स्थानमा छ । एपिएफले आइतबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै अंक खाता खोलेको थियो ।
जारी लिगमा अहिले सम्म जित हात पार्न नसक्ने जावलाखेल, एपिएफ र फ्रेन्डस् क्लब रहेका छन् । ब्रिगेड ब्वाइज भने ६ अंकका साथ नवौँ स्थानमा छ ।
दुवै टोलीले गोलका केही अवसर पाए पनि दुवै टोलीले त्यसको सदुपयोग गर्न सकेनन् । १५औं मिनेटमा अनगुना जुनियरले बिबिसीका गोलकिपर अन्जल श्रेष्ठ बिट भैसकेको अवस्थामा बक्सबाहिरबाट गरेको प्रहार बाउन्स हुँदै बाहिरिँदा जावलाखेलले अग्रताको अवसर गुमाएको थियो ।
३०औं जावलाखेलका रूपबहादुर लामाको पासमा जुनियरले गरेको पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
५८औं मिनटमा पेनाल्टी बक्स भित्रबाट लोउक एनजीमीले गरेको प्रहार ब्रिगेडका गोलकिपर अन्जलले मुस्किलले विफल पार्दा जावलाखेलले अग्रताको अवसर गुमायो ।
६३औं मिनेटमा भने ब्रिगेड ब्वाइजका भुवन बस्नेतले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले सहजै नियन्त्रणमा लिए । योसँगै चौथो चरणको खेल सकिएको छ । चौँथों चरणमा मछिन्द्र शीर्ष स्थानमा रह्यो ।