चितवन । चितवनमा पछिल्ला वर्षहरुमा तोरीको क्षेत्रफल बढेसंँगै तोरी उत्पादनमा पनि भएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्याकंअनुसार आर्थिक वर्ष ०७६-७७ मा १२ हजार २५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार १८० मेट्रिक टन तोरी उत्पादन भएको छ ।
यस्तै आर्थिक वर्ष ०७७-०७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार २१८ मेट्रिक टन र ०७७-०७८ मा १२ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोले यो वर्ष तोरीको क्षेत्रफलमा थप वृद्धि भई उत्पादन पनि सोहीअनुसार वृद्धि हुने अनुमान गरिएको छ ।
‘अहिले मौसम अनुकुल छ, तोरी राम्रो फुलेको र तुषारो पनि परेको छैन’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने । उनका अनुसार पछिल्ला वर्षहरुमा क्षेत्रफलसंँगै तोरीमा कृषकहरुको आकर्षण पनि बढ्दै गएकोले पनि उत्पादनमा पनि वृद्धि हुंँदै गएको पाण्डेले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षणसंँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकोले पनि तोरीको क्षेत्रफलसंँगै उत्पादनमा वृृद्धि भएको बताए । ‘तोरीको मुल्य बृद्धिसंँगै माग पनि बढ्यो’ उनले भने, ‘अन्य खेती छोडेर कृषकले तोरी लगाउन थाले ।’ यो वर्ष माडीमा ब्लक कार्यक्रम चलाइएको र तोरीको फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकोले तोरी उत्पादनमा वृद्धि हुने पौडेलको भनाइ छ ।
यसभन्दा अघिका आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसंँगै तोरीको उत्पादनमा पनि घटबढ भएको छ । जसअनुसार ०७४-०७५ मा १२ हजार २५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार २०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । आव ०७५-७६मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार ३०० मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।