काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षका किशोरले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोक बहादुर जिसीले बताए।
बलात्कारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । बालिका आफ्ना साथीहरुसँग लुकामारी खेल्न गएकी थिइन् । अन्य बालबालिकाहरु खेलेर हिँडेपछि किशोरले गहुँबारीमा लगेर उनलाई बलात्कार गरेको बताइएको छ । आइतबार साढे ७ बजेतिर बलात्कार पछि उनी भागेका थिए ।
उनलाई प्रहरीले सोमबार टिकाथलीबाट पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले अनुसन्धान गरिरहेको छ ।