चितवन । नारायणी नदीकिनार नारायणगढलाई ‘सिंगापुरको सन्तोषा आइसल्याण्ड’जस्तै बनाउने संकल्प भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नदीकिनार ‘सिंगापुरको सन्तोषा आइसल्याण्ड’ बनाउने संकल्प गरेका हुन् ।
शनिबार सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास कार्यक्रममा प्रचण्ड र रेनु दाहाल दुबैले नारायणी नदीकिनार ‘सिंगापुरको सन्तोषा आइसल्याण्ड’ बनाउने दावी गरेका थिए । मेयर दाहालले २९ करोडको लगानीमा नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना बनाएको बताइन् ।
महानगर प्रमुख दाहालले नारायणी नदी किनार क्षेत्रको शिवघाटसम्मको २ सय विघा क्षेत्रलाई पर्यटकीय स्थल बनाउने बताइन् । उनले नारायणी किनारलाई अन्तर्राष्ट्रिय स्तरको रमणीयस्थल बनाउने बताइन् । पर्यटन मन्त्रालयबाट आएको ६ करोड ६७ लाख ८६ हजारमा लागतमा ३ वटा पार्किङ स्थल र २.५ किलोमिटरको पैदल मार्ग बनाउन सम्झौता भएर काम अघि बढेको छ । महानगर प्रमुख दाहालले डीपीआर अनुसार फुट ट्रेल, चिल्ड्रेन पार्क, स्मार्ट शौचालय, पार्किङ, सनसेट र सनराईज भ्यू, आरती गर्ने स्थललगायतका स–साना संरचनाहरु निर्माण हुने बताइन् । रेनु दाहाल र प्रचण्डले दावी गरेजस्तो बन्ला त नारायणी नदीकिनार ‘सिंगापुरको सन्तोषा आइसल्याण्ड’जस्तो ?