चितवन । मनोज सहनीलाई कुनै बेला विदश जाने हुटहुटी थियो । जब शहीद स्मृति क्याम्पस टाँडीबाट कक्षा १२ पूरा गरे । साथीसंगी सबै विदेश गएको देख्दा उनलाई पनि विदेश जाने हुटहुटीले सतायो । राहदानी बनाए । विदेश जाने, गाउँमा चिटिक्कको एउटा घर बनाउने र छोराछोरीलाई राम्रो शिक्षा दिने र सुखी जीवन बिताउने सपना बुन्न थाले सहनी ।
विदेश जाने पैसा खोज्दै गर्दा एक दिन उसको बुबाले उनलाई पुर्खौली पेसा धानेर बस्न आग्रह गरे । ‘विदेशमा पैसाको बोट छैन, दुःख गरेर कमाउनुपर्छ । विदेश पनि सबैको राम्रो हुन्छ भन्ने छैन । हाम्रो पुर्खौली पेसा माछा हो । माछा पालेर जीवन धान्न सकिन्छ, विदेशको दुःख स्वदेशमै गरे पनि उन्नती हुन्छ’ सहनीलाई आफ्नो बुबाले यसो भनेपछि उनले बाटो मोडे । विदेश नजाने सुरसार गरे । पुर्खौली पेशा माछापालनमा निरन्तर लाग्ने अठोट गरे ।
सहनी यतिबेला ३८ वर्षका भएका छन् । उनी माछापालनमा लागेका १५ वर्ष पूरा भयो । रत्ननगर ९ टिकौली जंगलसँगै जोडिएको घोलखेतमा उनले यतिबेला चिटिक्कका पोखरीहरु खनाएका छन् । कुनै बेला गैँडा आहाल खेल्ने घोलखेतमा यतिबेला सहनीले पैसा टिपिरहेका छन्, माछा बेचेर ।
उनले टिकौलीको घोलखेतमा यतिबेला २० भन्दा बढी पोखरी खनाएका छन् । लाखौँ माछाका भुरा हुर्काइरहेका छन् । कुनै बेला खेर गइरहेको घोल खेत, धान रोपे पनि गैँडाले सखाप पार्ने खेतमा अहिले सहनीले पैसा टिपिँरहँदा दुनियाँ चकित भएको छ ।
हालसम्म उनले ५० लाखभन्दा बढी लगानी गरिसकेका छन् । वार्षिक २० लाख त उनले माछाको भुरा बेचेर कमाइरहेका छन् । उनी भन्छन्, ‘माछाभन्दा म माछाको भुरा बेच्छु, म आफैँ पोखरीमा माछाको भुरा उत्पादन गर्छु ।’ उनले आफ्नो माछाको भुरा पूर्वपश्चिम जताततै पुगेको बताउँछन् ।
खगेरी जल उपभोक्ता संस्थाको ३ बिघा जग्गा उनले भाडामा लिएका छन् । ३ बिघा जग्गामा उनले माछापालन गरिरहेका छन् । वार्षिक २ लाख त उनले जग्गाको भाडामात्र बुझाउँछन् । उनले भने, ‘गत वर्ष मैले १ करोडको कारोबार गरेको थिएँ, यो वर्ष पनि १ करोडभन्दा बढीको कारोबार गर्छु ।’ माछाभन्दा पनि माछाको भुरा बढी बेच्ने उनी बताउँछन् ।
उनले भने, ‘विदेश नगई पुर्खौली पेशा गरेको मलाई फलिफाप भएको छ । ३ करोडभन्दा बढीको सम्पत्ति रत्ननगरमा जोडिसकेको छु, सबै माछापालनबाटै हो ।’उनले आफ्नो ६ जनाको परिवार (बुबा आमा, श्रीमती, छोरी र छोरा) माछापालनकै आम्दानीबाट पालिएको बताए । उनले भने, ‘छोराछोरीलाई बोर्डिङ स्कुल पढाएको छु, माछापालनबाट ३ ठाउँमा घडेरी किनेको छु, अब म विदेश जान्नँ । स्वदेशमै माछापालन गरेर अघि बढ्छु । आफ्नो माछापालन फर्मलाई ठूलो बनाउँछु, आफ्ना सन्तानलाई पनि यही पेशामा लगाउँछु । अरुलाई पनि माछापालनमा लाग्न सल्लाह दिन्छु ।’
उनका बाजेले पर्साको पोखरिया नगरपालिकामा माछापालन गरेका थिए । उनले बाजेको पेसा समाल्दै रत्ननगरमा माछापालन गरिरहेका छन् । उनलाई उनका बुबा, आमाले सघाउँछन् । उनी भन्छन्, ‘हामी परिवार नै यही पेसामा लागेका छौँ, हामीलाई फलिफाप भएको छ, यहाँका स्थानीय पनि हाम्रो पौरख देखेर माछा पालनमा लागेका छन् ।’ सहनी यतिबेला रत्ननगर ४ भोकाहामा आफ्नै घरमा परिवारसँग बस्छन् । भोकाहामा घडेरी र घर उनले माछापालनबाटै जोडेका हुन् । भन्छन्, ‘धेरै गरेको छु, अझै धेरै गर्न बाँकी छ, अब विदेशसिदेश जान्नँ, अझै धेरै पोखरी खनाएर पैसा टिप्छु ।’